Hamro Sanchar

आज ओमानसँग हारको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १९ गते


Advertisement

काठमाडौं, कात्तिक १९- आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोटको उपाधिको लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल आज विहान ११ बजे सुरु हुनेछ । नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो ।

नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ । समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

नेपाल र ‌ओमानबीच ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्ला तीन खेलमा जित निकाल्दा २ मा हार बेहोरेको छ । नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो ।

२०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो । त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको ट्वेन्टी–ट्वेन्टी सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाल र ओमानबीच पहिलो ट्वेन्टी–ट्वेन्टी २०१९ को अक्टोबरमा भएको थियो । ओमानमा भएको खेलमा नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो ।

यसैबीच, नेपाल क्रिकेट संघ क्यानले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

संघका सचिव पारस खड्काले अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने र त्यसको आधा रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने जानकारी दिएर फाइनल खेलको टिकटको मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ ।


प्रतिकृया दिनुहोस्