काठमाडौं, कात्तिक १०- घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि नेपाली टिमले आज (शुक्रबार) युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै छ ।
नेपाल र यूएईसँगै हङकङ सहभागी शृंखलामा नेपालले लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय गरेको थियो ।
यूएईले भने चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । यूएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा मुहम्मद वसिमको कप्तानीमा रहेको टिम फाइनल प्रवेश गरेको हो ।
जारी शृंखलामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
लिग चरणमा नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले, तेस्रो खेलमा पुनः हङकङलाई ७९ र चौथो खेलमा यूएईलाई पाँच विकेटले हराएको थियो ।
शृंखलाका लिग चरणका सबै खेल मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट रंगशालामा भएको थियो । फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।