काठमाडौं, साउन ४- दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्योङयाङ र सोलबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने कूटनीतिक संवाद अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक लगायत सामरिक हतियार विकासको लागि आह्वान गरेका छन् ।
छिमेकीको उक्त आह्वानको जवाफमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले लामो समयदेखिको आफ्नो सहयोगी वासिङ्गटनसँगको निकटता बढाएका छन् । उत्तर कोरियालाई नियन्त्रणमा राख्ने प्रयासमा पूर्व औपनिवेशिक शक्ति जापानसँग पुराना मतभेद बिर्सेर नयाँ सम्बन्ध कायम गर्ने प्रयास गरेका छन् ।