Hamro Sanchar

कागेश्वरी मनोहराको थलीस्थित ‘मांडू मो नेपाल’को भवन उद्घाटन, भयो नेपालीको प्रशंसा

प्रदिप नेपाली प्रकाशित : २०८० बैशाख, १० गते


Advertisement

काठमाडौं, बैशाख १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीस्थित कोरियन कम्पनी ‘मांडू मो नेपाल’को भवन उद्घाटन भएको छ । सन् २०१८ बाट सुरु भएर २०२० जुलाईमा सम्पन्न भएको कम्पनीको भवन आइतबार एक कार्यक्रमकाबीच उद्घाटन भएको हो ।

कोरोना महामारीका कारण भवन उद्घाटनमा ढिलाई भएको कम्पनीले जनाएको छ ।

२ हजार ४५ स्क्वायर फिटमा निर्माण भएको कम्पनीमा सुबिधा सम्पन्न भवनमा १४ वटा विभागीय अफिसहरु, बगैँचा, वाथरुम, कामदारका लागि उच्च सुरक्षासहितको छात्रबासहरु रहेका छन् ।

कम्पनीमा उच्च गुणस्तरको नक्कली कपाल उत्पादन हुँदै आएको छ । कम्पनीमा ५ सयभन्दा बढी नेपाली महिलाहरुले रोजगारी प्राप्त गरिरहेका छन् ।

नेपालको अर्थतन्त्रलाई माथि उकास्न मदत गर्ने र विश्वको उत्कृष्ट कम्पनि बनाउने कम्पनीको उदेश्य रहेको बताइएको छ ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकले कम्पनीले नेपालको आर्थिक विकासमा टेवा पुर्याएको भन्दै कोरिया सरकार नेपालका अन्य स्थानमा पनि यस्ता रोजगारी सिर्जना गर्ने खालका कारखाना स्थापना गर्न तयार रहेको बताए । कार्यक्रममा उनले कम्पनी निरन्तर बाँच्नु पर्ने भन्दै उत्पादनको परिमाण र निर्यात बढाउन ध्यान दिन अनुरोध गरेका थिए । उनकाअनुसार यस्ता नक्कली कपाल उत्पादन गर्ने कम्पनी चाइना, म्यान्मार र नेपालमा संचालन हुँदै आएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले ‘मांडू मो नेपाल’ले नगरपालिकाभित्र कम्पनी खोलेर धेरै नेपालीहरुलाई रोजगार दिएको भन्दै खुसी व्यक्त गरे । नेपालीहरु परिश्रमी, मेहेनती, कर्तव्यनिष्ठ, लगनशील र कामप्रति बफादारी रहेकोले कम्पनीले सफलता हासिल गर्ने उनको भनाइ छ । नगरपालिकामा यस्ता रोजगार सिर्जना गर्ने कल-कारखाना निर्माणमा आफु हातेमालो गर्न र आवश्यक सहकार्य गर्न तयार रहेको मेयर कार्कीले बताए । साथै उनले नेपाल वातावरणीयलगायत हरेक हिसाबले उत्कृष्ट रहेकोले अन्य लगानीका कार्यक्रमहरु ल्याउन अनुरोधसमेत गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका संस्थापक होङ इंङ प्योले सन् २०१२ मा शुन्य अवस्थामा कम्पनीको सुरुवात गरिएको जानकारी दिए । विनासकारी विपत, कोरोना महामारीमा पनि नेपालीहरुले एकता, भातृत्व र अद्भुत इच्छाशक्तिले आफुहरुले हार नखाएको भन्दै संस्थापक प्योलेले नेपालीहरुको प्रशंसा गरे । आफुहरुको उदेश्य नेपालको अर्थतन्त्रलाई माथि उकास्न मदत गर्ने र विश्वको उत्कृष्ट कम्पनि बनाउने रहेको उनले बताए ।

कार्यक्रममा उद्योग बाणिज्य विभागका प्रतिनिधि, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शंकर पाण्डेसहित कोरियाली बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कसरी बनाइन्छ नक्कली कपाल, कति समय लाग्छ ?

मानिसमा टाउकोपनको समस्या बढ्दै गएपछि टाउकोमा नक्कली कपाल लगाउने चलन तिव्र गतिमा बढिरहेको छ । यसलाई तयार पार्नु सजिलो काम होइन । कम्पनीका नेपाली प्रतिनिधि बिष्णु पोखरेलकाअनुसार अधिकांश नक्कली कपाल हातले तयार गरिन्छ, त्यसैले यो धेरै समय लाग्छ । एकै पटकमा रहेको कपाललाई विगमा परिणत गर्न ५० घण्टादेखि ६ महिनासम्म लाग्न सक्छ । नक्कली कपाललाई विग भनेर भनिन्छ ।

विग दुई तरिकाले तयार हुन्छ । सिंथेटिक रूपमा बनेको पलिएस्टर कपालबाट पहिलो । दोस्रो, मानिसले दान गरेको वा बेचेको कपालबाट । मानिसको कपालबाट बनेको विगलाई सबैभन्दा राम्रो विग मानिन्छ, यो हेर्दा पूर्ण रूपमा मौलिक हुने भएकाले यसको माग बढी छ र मूल्य पनि उच्च छ ।

काटिएको मानव कपाल पहिले संकलन गरिन्छ । त्यसपछि कपाललाई राम्ररी ट्रिम गरिन्छ ताकि कुनै पनि सानो वा ठूलो वा क्षतिग्रस्त कपाल बाँकी रहँदैन । त्यसपछि तिनीहरू धुन्छन् । उनीहरुमा कुनै किसिमको संक्रमण भएमा त्यसलाई पनि कीटाणुरहित गरिन्छ । यस पछि, तिनीहरूको रंग र आकार निर्धारण गरिन्छ ।

अब सुरु हुन्छ सबैभन्दा कठिन प्रक्रिया अर्थात् कपाललाई फाउन्डेसनमा लगाउने काम । फाउन्डेसन भन्नाले टाउकोमा जोडिएको त्यो भाग हो जसको मद्दतले कपाल रहन्छ । कपाललाई फाउन्डेसनमा लगाउन सुईको प्रयोग गरिन्छ । यो गाँठो मार्फत लागू गरिन्छ । पूरै विगमा ३० देखि ४० हजार यस्ता गाँठ हुन्छन् ।

छोटो कपालको विग पुरुषहरूका लागि बनाइन्छ, तर महिलाहरूका लागि विग बनाउन कपाल कम्तिमा ८ इन्च लामो हुनुपर्छ ।


प्रतिकृया दिनुहोस्