काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार बने वृद्धभत्ता ५ हजार पुर्याउने बताएका छन् । काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा नेता पोखरेलले यस्तो आश्वासन दिएका हुन् ।
केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पुर्याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ । ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताए ।
आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको जिकिर छ ।