काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दावी गरेका छन् ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष प्रचण्डले आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको दावी गरेका हुन् ।
उनले भने, ‘ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए त्यो झुटो हो, मेरै पहलमा चुच्चे नक्सा बनेको हो।’ प्रचण्डले चुनाव जित्न नभइ नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भ रोक्न गठबन्धन गरेको बताएका छन् ।
यस्तै प्रचण्डले यस पटकको निर्वाचन सामान्य र औपचारिक मात्रै नभएको बताएका छन् । चुनावी सभालाई सम्बोधन गदै उनले यो निर्वाचन जीवन र मरणबीचको भएको बताएका हुन् ।
सत्ता गठबन्धन जनताको गठबन्धन भएको बताउँदै उनले नेकपा (एमाले)ले बनाएको अर्को गठबन्धन राजतन्त्र पुर्नस्थापना गर्न चाहने र संविधान च्यात्नेहरूबीचको भएको उनले दाबी गरेका छन् । लोकतन्त्रविरोधीको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन् ।