काठमाडौं । विरोध खतिवडामाथि हातपात गर्ने व्यक्तिले मदिरा सेवन नगरेको पाइएको छ । मकवानपुरका गठबन्धन दलले संयुक्त विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीका उम्मेदवार समेत रहेका खतिवडामाथि कुटपिटको समाचारको खण्डन गर्दै चुनावी कार्यक्रममा खतिवडा आएलगत्तै ‘एक स्थानीयले अत्याधिक मदिरा सेवन गरी त्यहाँ पुगेको र आफैँ लडेर घाइते भएको’ भन्दै खड्कालाई प्रहरीमा बुझाइएको बताएका थिए ।
मंगलबार हिजो गठबन्धनको चुनावी कार्यक्रममा भोट माग्दै मकवानपुरको मनहरी पुगेका खतिवडालाई स्थानीय पुरुषोत्तम खड्का नाम गरेका एक व्यक्तिले दुई झापड हानेका थिए । तर, प्रहरीले ५० वर्षीय खड्काले मापसे नगरेको बताएको छ ।
खतिवडालाई हातपात गरेपछि पक्राउ गरिएका खड्काको हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मापसे गरेको नपाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खतिवडा मन्त्री र सांसद हुँदा गाउँमा नआएको, विकास नगरेको भन्दै रिसाएका खड्काले हात मिलाउने बाहानामा दुई झापड हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।