Hamro Sanchar

एमाले दोलखाबाट प्रदेशसभा ‘क’ का उम्मेदवार नर बहादुर श्रेष्ठ, यस्तो छ राजनीतिक पृष्ठभूमि

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ३१ गते


Advertisement

दोलखा, असोज ३१- नेकपा एमालेको तर्फबाट प्रदेशसभा दोलखा ‘क’ का उम्मेदवार नर बहादुर श्रेष्ठले आफ्नै जन्मथलोबाट चुनावी अभियान सुरु गरेका छन् । श्रेष्ठले शनिबार जन्मथलो मेलुङ गाउँपालिका वडा नम्बर–४ भेड्पुको लामाटार पिपलबोटको चौताराबाट चुनावी अभियान सुरु गरेका हुन् ।

प्रदेशसभा सदस्यको उम्मेदवार बनेपछि पहिलो पटक जन्मथलो पुगेका श्रेष्ठलाई आफ्नो वंशका जेष्ठजन काका पहल बहादुर श्रेष्ठले दही खुवाएर जितको लागि आर्शीवाद दिएका थिए ।

श्रेष्ठले आफू २०५४ मा तत्कालिन भेड्पु गाविसको अध्यक्ष, २०७४ मा गाउँपालिका अध्यक्ष र २०७८ मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्षको उम्मेदवार बनेपछि चुनावी अभियान सोहि पिपलबोटको चौतारोबाट शुरु गरेर विजयी भएको बताए । यस पटक पनि आफ्नै जन्मथलोबाट चुनावी अभियान शुरु गर्नुभएका श्रेष्ठले आफ्नो जित हुने दाबी गरेका छन् ।

नेकपा एमाले दोलखा जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठले दोलखाको गरीबी र अभाव विरुद्धमा लड्नका लागि एमाले तयार रहेको बताउँदै प्रतिनिधि सभा र प्रदेश सभामा एमाले उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन आव्हान गरे । यस्तै आफू निर्वाचित भएपछि स्थानीय तहलाई सक्षम र सबल बनाउन नीतिगत व्यवस्था गर्ने र विकास निर्माणलाई जोड दिएर सुगम क्षेत्रको रुपमा स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तो छ राजनीतिक पृष्ठभूमि

कक्षा ६ मा पढ्दा देखि गाउँ-ठाउँमा भएका अन्याय अत्याचार देखेर तथा त्रिभुवन मावी मेलुङका शिक्षक बैकुन्ठ पौडेलको प्रशिक्षणबाट आफूले कम्युनिष्ट विचार धारा बोकेको बताउने नर श्रेष्ठको राजनैतिक जीवन त्रिभुवन माविबाटै सुरु भएको हो । पञ्चायतकालको जगजगीको समय भएपनि आफू त्रिभुवन मावि मेलुङको स्ववियु सभापती बनेको स्मरण अझै पनि उनको मन मस्तिष्कमा ताजै छ । त्रिभुवन माविबाट सुरु भएको उनको राजनैतिक यात्रा यत्तिमै सिमित भएन उनी अनेरास्ववियु दोलखाको सदस्य, सहसचिव, उपाध्यक्ष हुँदै २०३८ सालमा सालमा जिल्ला अध्यक्ष बन्न पुगे ।

यतिमात्र होइन नरदेवी आयुर्वेदिक क्याम्पसमा स्ववीयु सभापतीको प्रत्यासी समेत बने तर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको दबदवा रहेको क्याम्पसमा उनी पराजित भए ।

सामान्य आर्थिक हैसियत भएको परिवार भएकोले श्रेष्ठ अध्ययन पछि जागीर गर्न बाध्य भए । जागिर खाँदा पनि बैचारीक आस्थामा विचलन आएन । निजामती कर्मचारी संगठनमा आद्ध भएर विभिन्न जिल्लामा काम गरे तर पञ्चायतको कोपभाजनको शिकार भए । पेन्सन नभइ जागिर छाड्न बाध्य भए अनि पूर्णकालिन राजनीतिमा होमिए ।

पञ्चायतकालमा जनपक्षीय उम्मेद्वार जितवीर लामा तामाङका चुनावी पर्चा बोकेको अभियोगमा थुनामा परेको स्मृति उनको मनमा अझै ताजै छ । पर्चा बोकेकै अभियोगमा उनी पञ्चायत कालमा थुनामा परे । २०४६ को सफल जनआन्दोलन पछि राजनीति खुल्ला भयो । राजनीति गर्न सहज भयो । जिल्लामा प्राविधिक शिक्षा आवश्यक ठानी जिविकोपार्जनका लागि प्राविधिक विद्यालय खोले उनका प्राविधिक विद्यालयका उत्पादनका रुपमा रहेका विद्यार्थीहरु अहिले देशै भरी छरिएर रहेका छन् । यो सम्झँदा उनलाई गर्व लाग्छ । प्राविधिक विद्यालय संचालनका साथै उनले राजनीतिलाई पनि निरन्तरता दिइ रहे ।

माओवादी जनयुद्ध कालमा एमालेमा लागेर जनताका पक्षमा काम गरे वापतनै माओवादीले उनको अपरहण गरेर ३/४ दिन बन्धक बनाएको तितो अनुभव उनीसँग छ । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि नयाँ संविधान बन्यो । संविधान बनेपछिको पहिलो स्थानीय तहको निर्वाचनमा उनी मेलुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । श्रेष्ठ मेलुङ गाउँपालिकाको अध्यक्षको रुपमा निर्वाचित हुँदा कहिले विपक्षिको समेत मन जिते अनि कहिले विवादित बने । पार्टीका लागि ४० वर्ष भन्दा बढी निरन्तर योगदान दिइरहेका श्रेष्ठ हाल नेकपा एमाले दोलखा जिल्ला कमिटी अध्यक्ष भएका छन् ।


प्रतिकृया दिनुहोस्