जनकपुर,भदौ २७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताएका छन् । सोमबारबाट जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।
मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिने पनि उनले बताए ।
उनले भने, ‘नेकपा एमालेबाहेक यी र यस्ता प्रभावकारी कार्यक्रम अरु कसैले गर्न सक्दैन । मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार बनाउनुपर्छ । यदि एमालेको नेतृत्वमा सरकार बन्न सकेन भने देश बर्बादीतर्फ जान्छ । पाँचदलीय गठबन्धनको सरकार राष्ट्रियताको हिसाबले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ । ओलीले आगामी निर्वाचनले एमालेको नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशलाई विकास र गतिको दिशामा अगाडि बढाउने बताए ।