सुर्खेत, भदौ १७– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकिकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । सुर्खेेतमा आज बिहान पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले समाजवादीसँग एकता हुने तर एमालेसँग सहकार्य नहुने बताएका हुन् ।
‘एमालेसँग सहकार्यबारे अहिले तत्काल केही देखिएको छैन। एमालेसँग हामीले भन्दै आएको कुरा के हो भने, संसद विघटनलगायत कुरा आत्मसमीक्षालगायत प्रष्ट नभइकन सहकार्य हुने देखिँदैन,’ उनले भने।
उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्र र एकिकृत समाजवादीको एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए । त्यस्तै उनले आफू चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने बताएका छन् । ‘मैले पहिलेदेखि नै भन्दै आएको छु( म चितवन ३ बाटै चुनाव लड्ने हो,’ उनले भने, ‘यसमा प्रष्ट हुनुहोला।’
गोरखा १ लगायत विभिन्न क्षेत्रबाट प्रचण्डलाई उम्मेदवार हुन सिफारिस गरिएका छन्। तर उनले चितवन ३ नछाड्ने प्रष्टाएका छन्। उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमतिनजिकै पुगिसकेको बताए। आज पनि सिट बाँडफाँटबारे थप छलफल हुने उनको भनाइ छ।