काठमाडौं, असार १६- जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अन्ततः आ-आफ्नो बाटो लाग्ने भएका छन् ।
बुधबार सिंहदरबारमा भएको दुई नेताबीचको वार्ताका क्रममा आ–आफ्नो बाटो लाग्ने सहमति भएको हो ।
पार्टी एकता गरेको तीन वर्षपछि यादव र भट्टराई पुनः अलग–अलग बाटोबाट अघि बढ्ने अवस्थामा पुगेका हुन् ।
छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने धारणा राखेका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए । त्यसमा यादवले सहमति जनाएको जसपा स्रोतले बतायो ।
भट्टराईले तत्कालीन नयाँ शक्ति लिएर जसरी संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए, त्यसरी नै अलग हुने धारणा यादव समक्ष राखेका थिए ।
अध्यक्ष यादवले बहुमतको बलमा पार्टीभित्र एकलौटी गर्न थालेको भन्दै यसअघि भट्टराई पक्षले यादवविरुद्व हस्ताक्षर अभियान चलाएको थियो । तर, ४० प्रतिशत पुर्याउन नसकेको यादव पक्षको भनाइ छ ।
स्रोतका अनुसार भट्टराईले पार्टी फुटाउन ४० प्रतिशत नपुगेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर २० प्रतिशत संख्या पुर्याए पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याइदिन समेत माग गरेका थिए । तर, देउवाले अस्वीकार गरेका थिए ।