काठमाडौं, असार ११- सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीले पार्टीले गरेको निर्णय हुबहु लागू हुने भन्दै कुनै पनि मन्त्रीलाई पार्टीसँग बार्गेनिङ गर्ने छुट नभएको बताएको छ । पार्टीको केन्द्रीय समितिको बैठकपछि बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् ।
खतिवडाले मन्त्रीहरूले माग गरेजस्तो नयाँ मन्त्रीहरूको सूची संशोधन नहुने पनि स्पष्ट पारे । उनले भने, ‘पार्टीसँग बार्गेनिङ गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन ।’
यस्तै बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नपर्खने निष्कर्ष निकालेको छ ।
मन्त्रीहरू फेरबदल गर्ने निर्णय तत्काल लागू नगरे पार्टीले त्यसलाई अपमान सम्झने प्रवक्ता खतिवडाको भनाइ छ ।
आजको बैठकमा धेरै मन्त्रीहरू अनुपस्थित रहेका थिए ।