Skip

Hamro Sanchar

कागेश्वरीका ३ वडामा फार्मेसी सेवा विस्तार हुँदै, स्वास्थ्य संस्था ‘मिनी अस्पताल’ बनाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडास्तरका स्वास्थ्य संस्थाहरूमा फार्मेसी सेवा विस्तार गर्ने तयारी गरेको छ। नगर अस्पतालको सेवा विस्तारसँगै वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई समेत क्रमशः ‘मिनी अस्पताल’ का रूपमा विकास गर्ने कार्ययोजना अघि बढाइएको छ।

यसैक्रममा नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेलको नेतृत्वमा चिकित्सक, इन्जिनियर, सूचना प्रविधि (आईटी) तथा प्रशासन शाखाका प्रतिनिधिसहितको टोलीले वडा नं. २, ५ र ९ मा सञ्चालित स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

अनुगमनका क्रममा वडास्तरबाटै स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवाग्राहीलाई औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सेवा सञ्चालन गर्ने तयारीबारे छलफल गरिएको छ। उक्त सेवा छिट्टै सञ्चालनमा ल्याउने अस्पतालको योजना छ।

त्यसैगरी, वडास्तरका स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला सेवाको स्तरोन्नति गर्ने तथा एक्स–रे सेवा विस्तार गर्ने योजना पनि अघि सारिएको छ। यसबाट सामान्य स्वास्थ्य परीक्षण, औषधि प्राप्ति तथा आवश्यक प्रारम्भिक उपचारका लागि नगरवासीले टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

नगर प्रमुख उपेन्द्र कार्कीको सोच, उद्देश्य र मार्गदर्शनअनुसार नगरभित्रका स्वास्थ्य संस्थाहरूलाई थप व्यवस्थित, सुविधासम्पन्न र सेवामैत्री बनाउने अभियान अघि बढाइएको अस्पतालले जनाएको छ। नगर अस्पतालको सेवा मात्र विस्तार नगरी वडास्तरका स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्दै स्वास्थ्य सेवाको पहुँच नागरिकको घरदैलोनजिक पुर्‍याउने लक्ष्य नगरपालिकाले लिएको छ।

यससँगै नगर अस्पताललाई १०० शैय्याको सुविधासम्पन्न अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ। अस्पतालमा आधुनिक शल्यक्रिया सेवा (अपरेसन थिएटर–OT) सञ्चालनका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ। विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ।

अनुगमनका क्रममा वडा नं. २ का वडा अध्यक्ष सुरज खड्काले प्रस्तावित कार्ययोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन्। विशेषगरी फार्मेसी, प्रयोगशाला तथा एक्स–रे सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाउन उनले जोड दिएका छन्।

वडाका जनप्रतिनिधि र नगर अस्पतालबीचको समन्वय तथा सहकार्यमा स्वास्थ्य सेवा विस्तारको योजना अघि बढाइएको हो। यस योजनाले नगर अस्पतालमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई कम गर्दै वडास्तरमै आधारभूत स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने बताइएको छ।


प्रतिकृया दिनुहोस्