Skip

Hamro Sanchar

जापानको ओत्सुकी सिटीसँग कागेश्वरीको महत्वपूर्ण समझदारी, युवालाई अध्ययन र रोजगारीको अवसर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । जापानको यामानाशी प्रिफेक्चरस्थित ओत्सुकी सिटी र कागेश्वरी मनोहरा नगरपालिकाबीच शिक्षा, स्वास्थ्य, सीप विकास तथा रोजगारीका क्षेत्रमा सहकार्य गर्ने महत्वपूर्ण समझदारी भएको छ। सहकार्यअन्तर्गत कागेश्वरी मनोहराका युवालाई जापानी भाषा, संस्कृति र सीपमूलक तालिम प्रदान गरी जापानमा अध्ययन तथा रोजगारीका अवसरसँग जोड्ने विषयमा सहमति भएको छ।

जापानको ओत्सुकी सिटीको चारदिने औपचारिक भ्रमणमा रहेका कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापासहितको प्रतिनिधिमण्डलबीच उक्त सहमति भएको हो। प्रतिनिधिमण्डल कात्तिक २८ देखि मंसिर १ गतेसम्म (नोभेम्बर १४ देखि १७) जापान भ्रमणमा रहेको छ।

दुई नगरबीच स्थापित भगिनी सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले भएको भ्रमणका क्रममा युवालाई जापानी भाषा, संस्कृति तथा व्यावहारिक सीपमा आधारित तालिम दिने र जापानमा अध्ययन तथा रोजगारीका अवसर प्राप्त गर्न आवश्यक सहजीकरण गर्ने विषयमा छलफल भएको छ। यसबाट नगरका युवालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न तथा उनीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, कागेश्वरी मनोहरा नगर अस्पतालको विकास, सेवा विस्तार तथा स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन ओत्सुकी सिटीले दीर्घकालीन सहयोग गर्ने विषयमा समेत सहमति भएको नगर प्रमुख उपेन्द्र कार्कीले हाम्रोसञ्चारलाई जानकारी दिनुभयो।

नगर प्रमुख कार्कीका अनुसार नगर अस्पतालको संस्थागत विकास, सेवा विस्तार र आवश्यक सहयोगका विषयमा दुई पक्षबीच सहकार्य अघि बढाइनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रको विकाससँगै स्थानीय युवाका लागि सीप, अध्ययन र रोजगारीका अवसर सिर्जना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

नगर प्रमुख कार्कीले ओत्सुकी सिटीसँगको सहकार्यलाई दुई स्थानीय तहबीचको औपचारिक सम्बन्धमा मात्र सीमित नराखी नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन साझेदारीका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

नेपाल–जापान मैत्री समाजको पहलमा अघि बढेको दुई नगरबीचको भगिनी सम्बन्धलाई संस्थागत गर्ने क्रममा यसअघि सन् २०२४ सेप्टेम्बर ४ मा कागेश्वरी मनोहरा नगरपालिकामा पहिलो औपचारिक बैठक भएको थियो। उक्त बैठकमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा संस्कृतिलगायतका क्षेत्रमा सहकार्य गर्ने आधार तयार गरिएको थियो।

त्यसैगरी, सन् २०२५ नोभेम्बर १० मा ओत्सुकी सिटीका नगर प्रमुख नोबुयासुले प्रतिनिधिमण्डलसहित कागेश्वरी मनोहरा नगरपालिकाको भ्रमण गर्नुभएको थियो।

हालको भ्रमणले यसअघि भएका समझदारीलाई कार्यान्वयनमा लैजाने तथा दुई नगरबीच शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, प्रविधि र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप सहकार्यका सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख कार्कीले अन्तर्राष्ट्रिय सम्बन्धको वास्तविक उपलब्धि नागरिकको जीवनमा देखिने परिवर्तन भएको उल्लेख गर्दै सहकार्यलाई अवसर, अवसरलाई उपलब्धि र उपलब्धिलाई समृद्धिमा रूपान्तरण गर्ने प्रयास जारी रहने बताउनुभएको छ।


प्रतिकृया दिनुहोस्