१ कार्तिक, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्।
आज बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको थियो। चालकसहित चारजना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा बेपत्ता भएका तीनजनाको खोजी तथा उद्धारसम्बन्धी थप विवरण भने प्राप्त हुन बाँकी छ।































