
२८ जेठ, काठमाडौं । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि देशका विभिन्न ४ सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार केही स्थानमा सडक मर्मत तथा सम्भावित प्राकृतिक विपद्को जोखिमका कारण सवारी आवागमन रोकिएको हो ।
काठमाडौंको सतुंगल( चित्लाङ सडकखण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका(९ देउराली क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले उक्त मार्ग पूर्णरूपमा बन्द गरिएको छ। प्रहरीका अनुसार मर्मत कार्य सम्पन्न नभएसम्म यो सडक करिब एक महिना बन्द रहनेछ ।
यस्तै, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट- नेपालथोक कटुन्जेबेँसी (बीपी राजमार्ग)हुँदै सञ्चालन हुने सवारी साधनलाई अस्थायी रूपमा रोक लगाइएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२ र ४ अन्तर्गत पर्ने महालक्ष्मी खोला क्षेत्रमा सडक मर्मत कार्य जारी रहेकाले कुलेखानी–फाखेल सडकखण्ड पनि हाल अवरुद्ध रहेको छ । उता, रोल्पामा पहिरो खसेपछि सहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
प्रहरीले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।






























