
काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सचिन तिमल्सेनाले रोजगारीको अवसर सिर्जना र युवाहरूलाई उद्यमशिलतामा नजोडेसम्म युवाहरू विदेश पलायन हुनबाट नरोकिने बताएका छन्।
आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ आफूले काम गर्ने प्रतिबद्धता जनाए। उनले युवा रोजगारीमा विशेष काम गर्ने बताए।
उनले यसअघि सोही क्षेत्रबाट निर्वाचित गगन थापा विशेष कारणले मिसनमा गएको टिप्पणी गर्दै अबको पाँच वर्ष आफूले भरत बनेर अयोध्यारूपी निर्वाचन क्षेत्र नम्बर ४ लाई सम्हाल्ने जिकिर गरे।
उनले प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबभन्दा दरिलो मियोको रूपमा आफू उभिने बताए।
उनले भने, ‘म सबैलाई साक्षी राखेर भन्न चाहन्छु। यो क्षेत्र अयोध्या हो। राम मिसनमा जानुभएको छ। भरतको रूपमा ५ वर्ष यो क्षेत्रलाई सम्हाल्नेछु। अब आउने प्रतिनिधि सभाको चुनावमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबभन्दा दरिलो मियोको रूपमा म उभिनेछु। काठमाडौं क्षेत्र नम्बर ४ ले यो देशलाई सबभन्दा सक्षम, अब्बल सांसद दिएको छ। खानेपानीका समस्याहरू लगायतका यावत कुरामा म लाग्नेछु, विकास निर्माणमा मेरो ध्यान हुनेछ। रोजगारीको अवसर सिर्जना र युवाहरूलाई उद्यमशीलतामा नजोड्ने हो भने युवाहरू नेपालमा बस्नेवाला छैनन्। म मेरो क्षेत्रमा युवा रोजगारीमा विशेष काम गर्नेछु। रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ काम गर्नेछु।’
उम्मेदवार तिमल्सेनाले युवाहरूलाई उद्यमशीलतामा जोड्न आफूले काम गर्ने बताए।
पहिलो पटक व्यापार गर्ने नवयुवाहरूलाई दुई वर्षको कर माफ गर्ने किसिमको कानून बनाउने दाबी गरे ।

















