
काठमाडौं, माघ १०- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री तथा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कुन्ती देवी पोखरेलले सो क्षेत्रका Gen Z (युवा पुस्ता) सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रममा राजसंस्थाको महत्व, धर्म, संस्कृति र परम्पराको आवश्यकता, साथै देशलाई कसरी समृद्ध र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो। युवाहरूका प्रश्नहरूको उत्तर दिँदै पोखरेलले राजसंस्था नेपालको पहिचान, इतिहास र राष्ट्रिय एकतासँग जोडिएको अभिन्न संस्था भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार राजसंस्थाले देश र जनतालाई एकतामा बाँध्ने, राष्ट्रिय अखण्डता कायम राख्ने तथा मुलुकको स्वाधीनतामा आँच आउन नदिने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
पोखरेलले शासन प्रणाली जनताको प्रत्यक्ष नियन्त्रणमा हुनुपर्ने धारणा राख्दै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली आजको आवश्यकता भएको बताउनुभयो। साथै, उपचारका लागि जनतालाई गोजी छाम्न नपर्ने व्यवस्था हुनुपर्ने उल्लेख गर्दै निशुल्क तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा राज्यको अनिवार्य दायित्व हुनुपर्नेमा जोड दिनुभयो।
बेरोजगारी समस्याबारे चर्चा गर्दै उहाँले नेपालमै उद्योग, कलकारखाना तथा उत्पादनमूलक क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो। त्यसका लागि लगानीमैत्री नीति, स्थिर वातावरण र उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो। आफू स्वयं उद्यमी महिला भएकाले उद्योगसम्बन्धी वर्तमान नीतिहरूमा आमूल सुधार आवश्यक रहेको उहाँको धारणा थियो।
कार्यक्रमको अन्त्यमा पोखरेलले यसपटक ढुक्कका साथ संसद् प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, निर्वाचित भइसकेपछि पनि Gen Z युवासँग निरन्तर संवाद, छलफल र सहकार्य गर्दै उनीहरूको सोच र सुझावका आधारमा नीति, योजना तथा कार्ययोजना निर्माण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


















