Skip

Hamro Sanchar

सपनाको बाटोमै अस्ताएकी आयुषा….

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


घरको आँगन अझै चिसो छ। बिहान–बेलुका आयुषाको चहलपहलले भरिने त्यो घर अहिले मौन छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–४ सिम्खडा गाउँको त्यो घरभित्र शब्दहरू कम छन्, आँसु धेरै।

टेबलमाथि राखिएको आयुषाको तस्बिर, जसलाई सयपत्रीको मालाले घेरेको छ, परिवारको पीडाको केन्द्र बनेको छ। तस्बिरमा देखिने मुस्कानले बुबा बैकुण्ठ र आमा भवानीलाई अझै पनि धोका दिन्छ—मानौं उनी भित्रै कतै छन्, बोलाउनासाथ निस्किएर आउनेछिन्।

२४ वर्षीया आयुषा सिंखडा भविष्य बुन्दै थिइन्। जापान जाने तयारी कक्षामा सहभागी हुन उनी तिवारीटोल मूलपानीबाट बानेश्वरतर्फ निस्किएकी थिइन्। त्यो बिहान उनका लागि सामान्य थियो—न कुनै हतार, न कुनै डर। तर, बाटो निर्दयी बन्यो।

आठ दिनअघि अचानक तीब्र गतिमा आइरहेको एक मोटरसाइकलले उनको स्कुटरलाई ठक्कर दियो। सडकमा लडेकी आयुषामाथि विपरीत दिशाबाट तीव्र गतिमा आएको (बाबा गोकर्णेश्वर’ नामक कम्पनी) बसको चक्काले जीवनको सबै सम्भावना थिचेर अघि बढ्यो। त्यो क्षणसँगै एक छोरी, एक सपना र एक भविष्य समाप्त भयो।

अस्पताल लैजाँदा औपचारिकता मात्र बाँकी थियो। चिकित्सकले ‘अब केही छैन’ भनेको शब्द अझै पनि परिवारका कानमा गुञ्जिरहेजस्तो लाग्छ।

बुबा बैकुण्ठको स्वर काँप्छ, “ऊ सधैं हामीभन्दा अगाडि सोच्थी। के गर्नुपर्छ, कसरी अगाडि बढ्ने—सबै योजना बनाएकी थिई।” आमा भवानी छोरीको तस्बिर समात्दै भन्छिन्, “आज पनि लाग्छ, ढोका खोल्दै ‘आमा’ भनेर बोलाउनेछे।”

आयुषा केवल छोरी मात्र थिइनन्, उनी परिवारको भरोसा थिइन्। भाइबहिनीको प्रेरणा र अभिभावकको आशा। छिमेकीहरू भन्छन्, उनी अरूको दुःखमा आफ्नै समय खर्चन हिचकिचाउँदिन थिइन्।

तर उनको मृत्युसँगै प्रश्नहरू बाँकी छन्। कति आयुषाहरू अझै सडकमा असुरक्षित छन्? कति परिवारले आफ्नो भविष्य चक्कामुनि गुमाइरहेका छन्? लापरबाही, तीव्र गति र कमजोर व्यवस्थापनले सिर्जना गरेको यो पीडा कसले बुझ्ने?

आज आयुषाको घरमा शून्यता मात्र छैन, एउटा चेतावनी पनि छ। सपना बोकेर निस्किएका युवा सुरक्षित घर फर्कन पाउने अधिकारको सवाल अझै अनुत्तरित छ।

आयुषाको कथा एउटा दुर्घटना मात्र होइन, एउटा परिवारको जीवनभरको पीडा हो—र समाजले गम्भीरतापूर्वक सुन्नुपर्ने आवाज पनि।


प्रतिकृया दिनुहोस्