Skip

Hamro Sanchar

जेनजीलाई प्रधानमन्त्रीको बाचा : तपाईले बुझाएको मस्यौदामा सोमबार हस्ताक्षर हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १२ गते


काठमाडौं । जेनजी आन्दोलनकारी र सरकारबीच आन्दोलनका उपलब्धि संस्थागत गर्ने विषयमा लिखित सम्झौता हुने भएको छ ।

जेनजीले प्रस्तुत गरेको सम्झौताको प्रस्तावलाई अन्तिम रूप दिएर सोमबार हस्ताक्षरको तयारी गरिएको हो ।

आज जेनजी प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो ।

छलफलमा सहभागी कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार सोमबारसम्ममा मस्यौदालाई अन्तिमरुप दिने वचन प्रधानमन्त्रीले दिएकी छन् ।

चाम्लिङले भने, ‘हाम्रो मस्यौदामा सम्झौता हुन किन ढिलाइ भइरहेको छ भन्ने हाम्रो जिज्ञासा थियो । यही विषयमा छलफल गर्न प्रधानमन्त्री ज्युले बोलाउनुभयो । उहाँले सोमबारसम्ममा टुंगो लगाउने बताउनुभएको छ ।’’

गत कात्तिक २८ गते जेनजीका केही समूहहरू एक ठाउँमा आएर साझा मस्यौदा बनाएका थिए । उक्त मस्यौदा सरकारलाई बुझाइएको थियो ।

मस्यौदामा आन्दोलनका सहिद र घाइते परिवारसँग समन्वय गरेर अन्तरिम राहत र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सुनिश्चित गर्ने, जघन्य अपराध बाहेकका घटनामा पक्राउ परेका थुनुवालाई तत्काल थुनामुक्त गर्ने, प्रवासी नेपालीको मताधिकार सुनिश्चितता लागि पूर्वाधार विकास गर्ने, दलीय भागबण्डाका आधारमा गरिने नियुक्तिको अन्त्य गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको सम्बन्धमा देशभर बृहत् नागरिक भेला गर्ने लगायत एजेन्डा छन् ।

जेनजीहरुले बुझाएको मस्यौदा आफूले त्यतिखेरै पढेको र सबै पक्षलाई पढ्न समेत दिएको प्रधानमन्त्री कार्कीले छलफलका क्रममा बताइन् । कार्कीको भनाइ उद्वृत गर्दै चाम्लिङले भनेँ, ‘म त साइन गर्दिहाल्छु, तर सबै पक्षलाई एक पटक हेर्न दिऊँ भनेर दिएको छु ।’

गत मंसिर १ गते नै सम्झौता हुनुपर्नेमा ढिलाइ भएपछि आफूहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएको चाम्लिङले बताए ।

उनले भने, ‘हामीले मस्यौदा बुझाएपछि अहिलेसम्म दुई(अढाई सय साथीहरू पक्राउ परिसकेका छन् । जनताले हामीलाई यो के गरेको भन्दै गाली गरिरहेका छन् । सरकारको पनि आलोचना गरिरहेका छन् । यस्तो हुनुको मूल कारण भनेको मस्यौदामा सम्झौता नभएरै हो ।’

उनले जेनजी प्रतिनिधिहरुले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरिन् । सरकारका अधिकारीहरुले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रुप दिने क्रममै रहेको बताएका थिए ।

प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुंग्याउन निर्देशन दिइन् । उनले भनिन्, ‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन। आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्। पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुपर्छ, हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ। अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्तावेज हो। कर्मचारी प्रशासकहरुले चिन्ता लिनुपर्नैन।’

अब मूल मुद्दालाई नबदलीकन केही प्राविधिक कुराहरूमा त्रुटि भएमा भने त्यसलाई सच्याएर सम्झौता गर्ने निर्णय भएको उनले बताए । छलफलमा जेनजीको तर्फबाट उपार्जुन चाम्लिङ, रक्षा बम, युजनराज भण्डारी, रिजन राना मगर, मानिषा चौधरी, मोनिका निरौला, भावना राउत र ओजस्वी थापा सहभागी थिए ।

सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता लगायत थिए ।


प्रतिकृया दिनुहोस्