
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र पूर्वडीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले जिल्लाको आदेश र फाइल मिसिल झिकाउन आदेश गरेको हो।
त्यसपछि लामिछानेले आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउँ भन्ने मागको निवेदनमाथि सुनुवाइ हुनेछ।
आजको सुनुवाइको क्रममा छविलाल जोशीतर्फका अधिवक्ता अपूर्व खतिवडाले बहस गर्नेक्रममा न्यायाधीशले मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएपछि मात्रै अर्को पेसी चढ्ने र सुनुवाइ अघि बढ्ने बताए।
उक्त निर्णय न्यायाधीशले सुनाएपछि आज लामिछानेतर्फका कानुन व्यवसायीले बहस गर्नै पाएनन्। मुद्दाको अर्को पेसी टुंगो लागिसकेको छैन।
लामिछाने र जोशी एकै खालको कसुरमा थुनामा छन्। जोशीलाई जिल्ला अदालत रुपन्देहीले थुनामा पठाउन आदेश दिँदा लामिछानेसँग एक करोड धरौटी माग गरेको थियो।
जोशी धरौटीमा रिहा गर्न माग गर्दै उच्च अदालत गएका थिए। लामिछाने एक करोड धरौटी बढि भएको भन्दै उच्च अदालत पुगेका थिए। तर उच्च अदालतले जोशीलाई थुनामा राख्ने आदेश सदर गर्दै लामिछानेलाई पनि पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो।
त्यही आदेश सर्वोच्चबाट पनि सदर हुँदा लामिछाने कारागारमै छन्। यसअघि उनले बिगोबापतको धरौटी राखेर रिहा हुन जिल्ला अ दालत रुपन्देहीमा निवेदन दिएका थिए। तर जिल्ला अदालतले यसरी रिहा गर्न अस्वीकार गरेको थियो। जिल्लाले नछाडेपछि उनी अहिले उच्च पुगेका हुन्


















