Skip

Hamro Sanchar

अब हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १९ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

आज पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो(भयो अब । कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला । नलागे नलागोस् तिनीहरूलाई,’ प्रचण्डले भने ।

देशभरि एकता घोषणा सभा र अभियान लिएर जाने उनले बताए ।

‘चुनावी परिचालनको अपिल गर्दै जानेछौं । देश एकचोटी फेरि हाम्रो आत्मसमीक्षा, आत्मआलोचना, प्रतिबद्धता, संकल्पलाई जनताले साथ दिने विश्वास हामीले लिएका छौं । तर यसो भनिरहँदा हामी अहंकारमा जान भने हुँदैन,’ उनले भने ।

 

यस्तै ‘प्रचण्ड’ ले सबै वामपन्थी शक्तिहरूसँग मिलेर राष्ट्रिय एकता र गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामी १० घटक एकै ठाउँमा भयौँ भनेर अब पुग्यो भन्ने पक्षमा छैनौँ। समाजवादी मोर्चामा रहेकाहरू, अन्य कम्युनिस्ट घटकहरू वा एमालेसँग समेत राष्ट्र, लोकतन्त्र र गणतन्त्र बचाउनका लागि हातेमालो गर्न तयार छौँ।’

उनले अहिले एकता नहुनेसँग मोर्चाबन्दी गर्ने समेत बताए। ‘जोसँग छिटो मिल्छ, हामी एकता गर्दै अगाडि बढ्छौँ। जोसँग पछि मिल्छ, हामी मोर्चा बनाएर अघि बढ्छौँ,’ प्रचण्डले भने।

 


प्रतिकृया दिनुहोस्