Skip

Hamro Sanchar

ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट प्रहरीमै फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २३ गते


काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फर्किएको छ ।

जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो ।

आयोगको उक्त जाहेरी आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै प्रहरीमै फिर्ता गरेको आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माले बताए ।

बिहीबार आयोगले एक विज्ञप्ती समेत जारी गरेको छ । ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन’, विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’

यसअघि जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारले जिल्ला प्रहरी परिसर कामठाडौंमा उजुरी दिँदै ओली र लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए ।

त्यसपछि प्रहरीले उक्त जाहेरी लिएर दर्ता नगरी आयोगमा पठाएको थियो ।


प्रतिकृया दिनुहोस्