
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शिर्ष नेताहरूमा बहानाबाजी सुरु भइसकेको बताएका छन्।
जेनजी आन्दोलनको माग पुराना नेताहरूको नेतृत्व परिवर्तन रहेको भएपनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी सुरु भइसकेको बताएका हुन। उनले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी सुरु भइसकेको बताएका हुन्।
मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको दाबी गरे।
अहिलेका नेताहरूबाट राजनीतिक दलहरू निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान गरे। चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरूले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्नसक्ने बताए।
उनले भने, ‘अब हामीसँग दुई वटा बाटो छ। एउटा दलका नेताहरू फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन्। बहानाबाजी सुरु पनि भइसकेको छ। यसको सबैभन्दा भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेका छन्। संकटमा यिनीहरू छन्। संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदैछ। वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन्।’
उनले भने, ‘राजनीतिक पार्टीहरू जनतामा जान सक्दैनन्। समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरू अरु संविधान विरुद्धमा गतिविधि सुरु गर्नेछन्। तिनै नेताहरू देखाएर समाजमा ति नेताहरुको आक्रोश प्रयोग गरिरहनेछन् र यस्ता तत्वहरुले समाजमा काम गरिरहनेछन्। अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ।’
महासचिव भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने चेतावनी पनि दिए। राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेको उनले स्पष्ट पारे।
सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उनले बताए। राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरुको कारणले राजनीति दुर्घटनातिर गइरहेको बताए। जेन जी आन्दोलनबाट भएका घटनाहरु आफ्ना लागि नयाँ नभएको बताए। आफूले यसबारेमा पहिल्यैदेखि आवाज उठाइरहेको उनको भनाई थियो।
उनले भने, ‘सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरु नै सुध्रिएन भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म। अहिले जे घटनाहरु घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन। कसको घर जल्यो, कुन घर जल्यो भन्नेमात्रै फरक हो। नत्र भने घरहरू जल्छन् भन्नेकुरा देखिन्थ्यो, एउटा उत्पात आउँदैछ भन्नेकुरा देखिन्थ्यो। त्यसले एउटा भ्याकुम क्रिएट गर्दैछ भन्नेबारेमा मैले भनेको थिएँ।’
महासचिव भुसालले अर्थतन्त्र केही विचौलियाहरुको घरानामा मात्रै सिमित रहेको बताए। राजनीतिक पार्टीहरुमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरु संकट थपिने स्थिति रहेको बताए ।














