Skip

Hamro Sanchar

गगन भन्छन् : प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र भाषणमा जाने होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २६ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र भाषणमा जानेभन्दा पनि दैनिक २० घन्टाका दरले काम गर्नुपर्ने बताएका छन्।

कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ रूपन्देहीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन तथा भाषण गर्न गइरहेको देखिएको बताए।

‘के कुरामा हाम्रो छटपटी भइरहेको छ भने सरकारको गति पुगेन, हामी सरकारलाई भन्छौं( युद्धको मनोविज्ञानबाट काम गर। १८, २० घन्टा काम गर, उद्घाटन र भाषण गर्न नजाऊ,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू डुल्ने र घुम्ने गरेको देख्छु। यो छाडेर तपाईंहरू काम गर्नुस्, हामी प्रचार गर्छौं।’

सरकारलाई खबरदारी गरिराख्नुपर्ने जिम्मेवारीमा कांग्रेस रहेको पनि उनले बताए।

‘म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु, म उहाँलाई सुझाव दिइरहेको छु,’ उनले भने, ‘तर परिणाम दिने जिम्मेवारी बोध सरकारको प्रमुख प्रधानमन्त्रीसँग हुनुपर्छ। हाम्रो शिक्षक साथीहरू सडकमा हुनुहुन्छ, सरकारले ठिक समयमा ठिक ढंगले काम गरेको भए शिक्षक साथीहरू सडकमा आउने अवस्था बन्दैनथ्यो, शिक्षकहरूका माग सम्बोधन गरेर छिटोभन्दा छिटो उहाँहरूलाई कक्षाकोठामा फर्काउनुपर्छ ।


प्रतिकृया दिनुहोस्