Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झलनाथको आरोप : चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १५ गते


Advertisement

काठमाडौँ । नेकपा (एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाएको आरोप लगाएका छन् ।

चीन भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जुन नेताले आज चीनबाट अनुदानमा मात्र बीआरआई ल्याउनुपर्छ भनिरहेका छन् ती नेताहरूले नै विगतमा चीनको अनुदानमा बनाइएको उद्योगधन्दा बेचेर खाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘हाम्रो देश खाली भिख मागेर मात्र काम गर्नुपर्छ भने होइन, अहिले केही साथीहरूले चीनबाट अनुदान मात्र लिनुपर्छ भन्ने तर्क गरेको सुनिन्छ तर तिनै साथीहरूले हिजो चाइनाले नै अनुदानमा दिएर नेपालमा निर्माण भएका उद्योग धन्दाहरू कौडीको मूल्यमा बेचे ।’

अनुदानमा लिएको कुरा बेचर खाने अनि अरू अनुदान माग्ने लाज लाग्दैन भन्दै उनले नेपाल जस्तो देशले दूरदर्शी भएर छिमेकीसँगको सम्बन्धलाई विकास गर्नुपर्ने बताए । चीनबाट ऋण लिँदा वा अनुदान लिँदा त्यसबाट नेपाललाई हित हुन्छ कि हुँदैन भनी सोच्नुपर्ने कुरा भएको भन्दै उनले राष्ट्रिय हित हुन्छ भने जे लिए पनि हुने बताए ।

उनले एमसीसीमा अमेरिकाले ५० करोड डलर दिएपछि नेपालले १३ करोड डलर हाल्नुपर्ने उल्लेख गर्दै भने, ‘यो अनुमोदन भएको दुई वर्ष पनि पुगेको छैन अमेरिकाले ५० करोड डलर राख्यो भने नेपालले २० करोड डलर राख्नुपर्‍यो । सात करोड डलर हामीले बढ्ता हाल्नुपर्‍यो अर्थात् १० अर्ब रुपैयाँ भन्दा बढी हाल्नु पर्‍यो । त्यो अनुदानले हामीलाई कस्तो भारी बोकायो, त्यस्तो अनुदान हामीलाई चाहिँदैन ।’

‘एउटा पार्टी (कांग्रेस)ले ऋण लिनु हुँदैन भनिरहेको छ भने अर्को पार्टी (एमाले)ले सम्झौताको कुरा गरिरहेको छ । यदि दुवै पार्टीले अनुदानको मात्र कुरा गरे भने चीनसँग बीआरआई कार्यान्वयनमा सम्झौता हुन्छ कि हुँदैन यसै भन्न सकिँदैन,’ नेता खनालले भने । नेपाललाई समृद्ध बनाउनका लागि सम्झौताहरु गर्नुपर्ने उनले सुझाव दिए ।


प्रतिकृया दिनुहोस्