Hamro Sanchar

३ वर्षपछि एमालेमै फर्किए रामवीर मानन्धर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । पूर्वमन्त्री तथा काठमाडौं ७ बाट २ पटक निर्वाचित सांसद रामवीर मानन्धर एमालेमै फर्किएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपचुनावमा एमालेलाई जिताउने घोषणा गर्दै उनी
करिब ३ वर्षपछि पार्टीमा फर्किएका हुन् ।

मानन्धर २०४९ र २०५४ मा दुईपटक १६ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए भने २०७० र २०७४ मा सोही क्षेत्रबाट सांसद जितेका थिए । पछिल्लो २०७९ को चुनावमा घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका मानन्धरले १२ सय मत पाएका थिए ।

मंसिर १६ गते हुने उपनिर्वाचनको मुखैमा उनी एमालेमा फर्किएर १६ नम्बर वडाको चुनावी अभियानमा सक्रिय भएको जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए । मानन्धर सोमवार आयोजित १६ नम्बर वडाको उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका थिए ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त स्थानमा हुन लागेको उपचुनावमा कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ । सो वडाका ४ सदस्य भने एमालेले जितेको छ ।

मानन्धर एमालेमा फर्किएसँगै वडा नम्बर १६ मा विरासत फर्काउन सहज भएको अध्यक्ष निरौलाले बताए । मानन्धर २०७९ को स्थानीय तह निर्वाचनदेखि नै एमालेमा निष्क्रिय भएका थिए । उनले केशव स्थापितलााई मेयर उम्मेदवार बनाउने निर्णयमा असहमति जनाउँदै एमालेबाट अलग भएका थिए ।


प्रतिकृया दिनुहोस्