दोलखा, असार २२- दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत नयाँपुल, पवटी, डाँडाखर्क जोड्ने ६.७९ किलोमिटर सडक कालोपत्रे गर्न १९ करोड १८ लाखको ठेक्का टेन्डर आह्वान गरिएको छ । प्रदेश सरकार अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरेको हो ।
एडिबीको ऋण सहयोगमा ग्रामिण सडक संजाल सुधार कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको इन्जिनियर हरिप्रसाद ओझाले हाम्रोसंचारलाई जानकारी दिए ।
उक्त सडक २ बर्षभित्र सम्पन्न गर्ने गरि भित्र ठेक्का आह्वान भएको हो । सडकको चौडाई साढे ५ फिट हुनेछ भने त्यसैमा नाला निर्माण हुने बताइएको छ ।
उक्त सडक कालोपत्रेका लागि आफुले गत बर्षको बैशाख महिनादेखि पहल गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । आफुले पटक-पटक बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयलाई घच्घच्याएर बजेटको व्यवस्था मिलाएको उनको भनाइ छ । आफुले गत बर्ष जेठमा एडिबी अन्तर्गतको समितिलाई वोर्ड मिटिंग राख्न लगाएर छिटोभन्दा छिटो बजेट ब्यबस्थापनको लागि अनुरोध गरेको उनले बताए । अहिले पनि सडक सञ्जालले सबै ठाउँ नजोडिएकाले पहिलो प्राथमिकतामा सडक राखिएको उनको भनाइ छ । सबै ठाउँमा सडकले नछोएका कारणले ग्रामीण कृषि सडक पहिलो प्राथमिकतामा रहेकाले त्यो नभएसम्म गाउँपालिकाको विकास आयस्रोत वृद्धि नहुने गाउँपालिका अध्यक्ष थोकरले बताए । “हाम्रो प्राथमिकता सडक नै हो ।” उनले भने, “सडक बन्न सकेन भने आयस्रोतका आधार पनि बन्द हुन्छन् ।”
गाउँपालिका सबै ठाउँमा ४ वर्षभित्र सडक सञ्जाल पुर्याउने लक्ष्य रहेकोमा क्रमिक रूपमा बजेटको ब्यवस्थापन गर्न लागिएको बताए । “एकै वर्षको बजेटले सबै ठाउँमा सडक पुर्याउन सम्भव छैन ।” उनले भने, “क्रमागत योजनामा हालेर ४ वर्षभित्र सडक सबै ठाउँमा पुर्याउने लक्ष्य लिएका छौं ।”
विकासका नाममा सडकमा बर्षेनी करोडौ रुपियाँ खर्च हुने गरेपनि त्यसको प्रतिफल थोरै देखिएको उदाहरण दिँदै अब विकास निर्माणका काम देखिने गरि पारदर्शी ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरे । सय वटा योजना आएपनि थोरै गर्ने तर राम्रो गर्ने लक्ष्य रहेकाले जनताले चाहेको र सोचेको जस्तो गाउँपालिका बनाउने उनको भनाइ छ ।
पालिकाभित्र पर्ने नयाँपुल डाँडाखर्क सडकअन्तर्गतको १२ किलोमिटर सिम्टे–लप्सी फेदा सडकको कालोपत्रे यसअघि नै सम्पन्न भएको छ भने पालिकाका अन्य सडकमा ढलान, नाली बनाउने ग्राभेलिंग लगायतका सडक स्तरोन्नतिका केहि कामहरु सम्पन्न भैसकेका र केहि सम्पन्न हुने तयारीमा छन् ।
सडक कालोपत्रे भएपछि शैलुङ गाउँपालिकाको केहि भूभागका स्थानीय र मेलुङ गाउँपालिकाका सिम्टे, पवटीलगायतका गाउँका स्थानीय लाभान्वित हुनेछन् ।
सो क्षेत्रका गाउँमा सडकको पहुँच पुगेपनि वर्षायाममा निकै समस्या पर्दा स्थानीयको कृषि उपज सामाग्री सहज ढुवानी र बजारीकरणमा समस्या पर्ने गरेको थियो ।
कृषि र पशुपालनले प्रचूर सम्भावना रहेको सो क्षेत्रका बासिन्दाले बर्खायामको मौसममा कृषि उपजको बजारीकरणमा समस्या पर्दै आइरहेको थियो । गाउँमा सडक पहुँचसँगै कालोपत्रेको ठेक्का प्रक्रियामा अघि बढाएपछि स्थानीय बासिन्दा निकै उत्साहित भएका छन् ।