काठमाडौं, असोज १९- मन्थली–काठमाडौँ जोड्ने अवरुद्ध वैकल्पिक सडक बढीमा एक घण्टामा संचालनमा आउने भएको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको थियो ।
शनिबार बिहान देखि अवरुद्ध सडक बढीमा एक घण्टाभित्र संचालनमा ल्याउने गरि काम भैरहेको गाउँपालिका अध्यक्ष हिरा थोकरले हाम्रोसंचार जानकारी दिए । गाउँपालिकाको पहलमा सडक बिभागले केहि समयमै सडक संचालन गर्ने गरि काम गरिएको छ ।
लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको थियो ।
मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो ।
बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् ।