
काठमाडौं, भदौ १२- १ फागुन २०५२ मा नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न ‘जनयुद्ध’ को बाटोमा अघि बढौँ !’ भन्ने मूल नाराका साथ ‘जनयुद्ध’ को सुरुवात भयो ।
‘जनयुद्ध’ को १० वर्षमा हजारौँ नागरिकको ज्यान गयो । आज पनि कैयौँ मानिस बेपत्ता छन् । उनका आफन्तहरू अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।
माओवादी ‘’जनयुद्ध’ ’ २०६३ सालमा शान्तिपूर्ण रूपमा अवतरण भयो । सात दलसँग भएको १२ बुँदे सम्झौता हुँदै बिस्तृत शान्ति सम्झौतामा आएर १० वर्षे ‘जनयुद्ध’ शान्तिपूर्ण रूपमा टुंगियो ।
२०६४ को ऐतिहासिक संविधानसभा मार्फत दश बर्ष जनयुद्ध लडेको माओवादी पार्टी पहिलो राजनीतिक शक्तिको रुपमा उदय भयो । जनयुद्धमा नेपाली जनताले देखाएको त्याग र बलिदानको खास मुर्तरुप वा चुरो बिषय गणतन्त्र नै थियो जसका लागि पनि नेपाली जनताले माओवादीलाई पहिलो शक्तिको रुपमा निर्वाचित गराए ।
माओवादी संग नेपाली जनताका धेरै आशा र अपेक्षा थिए, एजेन्डा थिए । जनयुद्धमा ज्यान गुमाएका परिवार, घाइते योद्धा, अपाङ्ग लगाएत ३ करोड नेपाली जनतालाई माओवादीसँग एउटा अपेक्षा थियो, आशा थियो । जनयुद्धमा माओवादीले उठाएका मुद्दाहरु तब कार्यन्वयन गर्ने तह सरकार हो त्यसैको प्रतिनिधित्व गर्ने ठाउँमा माओवादी पुग्दै थियो त्यस अर्थमा पनि धेरै जनताको अपेक्षा माओवादीसँग जोडिएको थियो ।
जनयुद्धमा माओवादीले उठाएका जनताको जनजिविकाका मुद्दाहरु, राष्ट्रियताका मुद्दाहरु साथै जनप्रिय मुद्दाहरु संग जब जनता कन्भिन्स थिए त्यसअर्थमा पनि माओवादीलाई भोट दिएर पहिलो शक्ति बनाए र दश बर्ष जनयुद्ध लडेको पार्टीलाई मत दिई संविधानसभाको पहिलो शक्ति बनाएर संसद भवन छिर्ने बाताबरण तयार पारिदिए ।
जब माओबादी सरकार बाट बाहिरियो तब माओवादी संग गरिएका लाखौं जनताका आशा र अपेक्षा साथै जनयुद्धमा उठाईएका मुलभुत मुद्दा कार्यन्यनमा माओवादी रक्षात्मक र कमजोर बन्दै गयो ।
‘जनयुद्ध’ को नेतृत्व गर्नेहरू राज्य संचालक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् । प्रचण्ड लगायत १०÷१२ जना नेताको सुरक्षित राजनितिक अवतरण भएपनि माओबादी जनयुद्धले जन्माएका हजारौं नेता कार्यकर्ताको अवस्था भने अहिले झन दुखद र दयनीय बनेको छ । जनयुद्धका घाईते अपाङ्गहरुको अवस्था झनै दहनिय छ । शरिरमा लागेको बमका छर्राहरुले अहिले पनि दुखाईरहेका छन् । द्वन्द्वपीडितहरू अहिले पनि न्यायको लागि आन्दोलनरत नै छन् । जनयुद्धका मुद्दा, मुल्य, मान्यता र आदर्श वेवारिसे त भए नै त्यो संगै हजारौं नेता एवम् कार्यकर्ताको राजनीतिक एवम् सामाजिक भबिस्य अन्योलमा परेको छ ।
जनयुद्ध लडेका सयौं जनमुक्ति सेनाहरु आज खाडीमा पसिना बगाउन विवस छन् भन्ने कतिपय पासपोर्ट लिएर काठमाडौंका गल्लिहरु भौतारिरहेका छन् ।
यस्तै एक उदाहरण बनेका छन् दोलखा मेलुङ गाउँपालिका-१ आहालडाँडा घर भएका केशव धनुके । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न भन्दै १३ बर्षको उमेरमा ‘जनयुद्ध’मा होमिएका धनुके अहिले क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहेका छन् । ३५ बर्षिय धनुके कलेजो र आमाशयको क्यान्सरबाट जीवन र मरणको दोशाधमा छन् ।
२०५९ सालमा जनयुद्धमा होमिएका उनले तात्कालिन राज्यसत्तासँगको विभिन्न लडाईमा जित्न सके तर क्यान्सर जस्तो प्राणघातक रोगलाई जित्न सक्ने अवस्थामा छैनन् ।
बैदेशिक रोजगारका लागि कतार पुगेका उनि क्यान्सर रोग लागेपछि गत जेठमा मात्र स्वदेश फर्केका हुन् । तीन बर्षसम्म त्यहाँ बसेर कमाएको केहि रकम र दाजुभाइ, आफ्ना-आफन्तहरुको सहयोगमा हालसम्म उपचार गराइरहेको बताउने उनि अब के गर्ने भन्ने अन्योलमा छन् । हालसम्म १० लाख हाराहारीमा खर्च भैसकेको उनको भनाई छ । स्थानीय युवाहरुले अभियान चलाएर १ लाख २० हजार संकलन त भएको छ तर त्यो पैसाले केहि हुनेवाला छैन ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको ३ पटक किमो लगाइसकिएको छ । अस्पताल श्रोतकाअनुसार ८० देखि ९० प्रतिशत घाउहरु निको भएपछि मात्र अपरेसन गर्नुपर्नेछ ।
सामान्य कृषक परिवारमा जन्मेका उनले यसअघि नै बाबु गुमाइसकेका छन् बने परिवारमा आमा, श्रीमती र एक तीन बर्षिया छोरी छन् । मुख्य आयश्रोत नै बैदेशिक रोजगार भएका उनि क्यान्सरबाट ग्रसित भएपछि खान र बस्न नै समस्या भएको स्थानीय समाजसेवी युवा निराजन आचार्य बताउछन् । धनुकेको जग्गामा ६ महिनाका लागि खाना पुग्ने पनि उत्पादन हुँदैन ।
भक्तपुरको ठिमीमा डेरा गरि बसिरहेका क्यान्सर पिडित धनुके आफुभन्दा पनि गाउँमा रहेकी बुढी भैसकेकी आमा, श्रीमती र छोरीको भविष्य प्रति चिन्तित छन् । अस्पतालले उपचार पश्चात् पनि पूर्ण रुपमा निको हुने संकेत गरेका छैनन् ।
ज्यानको माया मारेर जनयुद्धमा होमिएका उनलाई आजसम्म कुनै पनि माओवादी नेता कार्यकर्ता भेट्न नआएको गुनासो गर्छन् । ‘हिजो ज्यानलाई हत्केलामा राखेर देश र जनताका लागि भनेर लड्न हिडियो, त्यो समय हरेक मिनेट, सेकेन्डमा के हुने हो भर नै हुँदैनथ्यो । दुस्मनसँगका लडाई जित्न सफल भएर ज्यान जोगाइयो तर अब बाँच्ने छिनो आशा बाहेक केहि छैन । त्यसबेला बिभिन्न झुटा आश्वासन र लोभ देखाएर युद्धमा होमिन उक्साउनेको भिड हुन्थ्यो तर अहिले सबैले बिर्सिए ।’ उनले भने ।
उनले घरको आर्थिक अवस्था कम्जोर रहेको भन्दै उपचारका लागि देश तथा विदेशमा रहने सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको याचना गरिरहेका छन् । सहयोगका लागि तलको ठेगाना वा खातामा उपलब्ध गराउन सकिनेछ ।
नेपाल बैंक लि. चरिकोट शाखा
केशव धनुके
खाता नम्बर- १३००१००६४४५१८००००००१ अथवा सानिमा बैंकको क्युआर ।
सम्पर्क- केदार धनुके- ९८४१६९४७६९
केशव धनुके- ९८४०३९९२३७
निराजन आचार्य- ९८५१०१२५२६




















