Hamro Sanchar

ढोरपाटनका मेयर देवकुमार तीनदेखि ‘फरार’, खोज्न प्रहरी परिचालन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ७ गते


काठमाडौं, जेठ ७- बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली निक्षेपकर्तालाई रकम दिन नसकेपछि फरार भएका हुन् ।

उनि शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए ।

मेयर नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ ।

उपमेयर कायतलाई म नआउन्जेल कार्यवाहक चलाउनू सम्पर्कबिहिन भएका हुन् ।

बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मेयर नेपालीलाई खोज्न प्रहरी परिचालन गरिएको बताए ।

‘उहाँ सम्पर्कविहीन भएपछि बचतकर्ताहरू हाम्रो कार्यालयमा आएका छन्। बाग्लुङ बजारमा तनावको अवस्था छ,’ बरालले भने,‘बचतकर्ताको पैसा फिर्ता दिन हामीले पहिला पनि भनेका हौं। उहाँले आफ्नो पैतृक सम्पत्ति बेचेर भए पनि तिर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। अहिले सम्पर्कविहीन भएपछि प्रहरीलाई खोज्न भनेका छौं।’

नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन् ।

एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।

४ दिन अगाडि उनले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए । पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेका थिए ।


प्रतिकृया दिनुहोस्