काठमाडौं । बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरू विरुद्ध काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ । महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको महानगरले जनाएको हो ।
नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धकमा लिई गम्भीर रूपमा घाइते बनाएको र उनीसहित तीन जना नगर प्रहरीको आईसीयुमा उपचार भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।
अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरूलाई साङ्घातिक आक्रमण गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरूलाई महानगरले अनुरोध गरेको छ ।