काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ए र समूह बी का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह बी मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । वेल्सले पहिलो खेलमा बराबरी खेलेको थियो भने इरान पराजित भएको थियो । दोस्रो खेलमा समूह ए को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
पहिलो खेल गुमाएका कतार र सेनेगल दुबै टोली पहिलो जितको योजनामा रहेका छन् । विश्वकप अन्तर्गत नै शुक्रबार हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्स र इक्वेडर लगातार दोस्रो जितको खोजीमा हुनेछ । त्यस्तै चौंथो खेलमा इंग्ल्यान्डले अमेरिकाको सामना गर्नेछ । समूह बी मा रहेको इंग्ल्यान्ड र अमेरिकाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । अमेरिका पहिलो जित निकाल्न चाहन्छ ।
मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।