Hamro Sanchar

गोठाटार हत्याकाण्ड : एक युवतीसहित तीन जना पक्राउ, यसरी गरिएको थियो हतियारको व्यवस्थापन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, १४ गते


Advertisement

काठमाडौं, असोज १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या गरेको आरोपमा एक युवतीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौं आएकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ । काठमाडौंमा उनीहरुले सुटरलाई हतियार दिएर घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेको अनुसन्धानबाट खुलेकाे बताए । सुमित्रा लागुऔषध प्रयोगकर्ता पनि हुन् ।

उनले भने, ‘पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ । घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको अशंका गरिएकाे छ ।’

मृतक लाल मोहम्मद कुनै समय जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी २०६३ मा नक्कली नोट कारोबारी बलुराम पटुवारको अनामनगरमा भएको हत्यामा पनि संलग्न थिए ।

कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतीय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । नितेन फरार छन् ।


प्रतिकृया दिनुहोस्