Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

रासस प्रकाशित : २०७९ असार, ९ गते


काठमाडौं, असार ९- नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन्।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ। निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएका बताइएको छ।

सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्कासन गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन्। पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अवस्थामा सुधार ल्याउने अपेक्षा लिइएको छ।


प्रतिकृया दिनुहोस्