९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा आज
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उखु किसानका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने धारणा राखेको छ।
उखु बिक्री गर्ने समय नजिकिँदै गर्दा मूल्य निर्धारणमा सरकारले देखाएको ढिलाइले किसानमा चिन्ता बढाएको भन्दै पार्टीले तत्काल निर्णय लिन आग्रह गरेको छ।
त्यस्तै, उखु किसानले पाउन बाँकी रहेको भुक्तानीसमेत अविलम्ब उपलब्ध गराउन कांग्रेसले माग गरेको छ।
बैठकमा ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए। छलफल जारी रहेकाले बैठक बिहीबार मंसिर १० गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।

























