काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद अन्त्य गरी सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले आपसी आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा पार्टीभित्र भएका कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन् ।
उनले विधि, विधान, पद्धति, प्रक्रिया र परिस्थितिलाई आत्मसात् गर्दै सबैलाई मूल बाटोमा फर्किन अपिल गरेका छन्।
‘अब कोही नअल्मलिऔँ, सबै जुटौँ मूल बाटोमा ! जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौँ । मन माझौँ र मन जोडौँ,’ उनले लेखेका छन् ।
शर्माले कांग्रेसभित्रको विवादलाई पार्टीको आन्तरिक विषयमा मात्र सीमित नराखी देशसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन् । कांग्रेसभित्र विवाद चर्किरहेका बेला उनको यस्तो आग्रह आएको हो ।
देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ । यस्तो अवस्थामा शर्माले देउवा पक्षका नेता तथा कार्यकर्तालाई पार्टीभित्रै फर्किएर एकताबद्ध हुन आग्रह गरेका हुन् ।

























