विराटनगर । भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका, एक महिला र एक पुरुष रहेका छन्। उनीहरूको पहिचान खुल्न बाँकी छ।
धनकुटाका प्रहरी प्रमुख नारायण रञ्जितकारका अनुसार अरुण र दूधकोसीको त्रिवेणी क्षेत्रनजिक जेटबोटको इन्जिन बिग्रिएपछि दुर्घटना भएको हो। इन्जिन बन्द भएर नदीमा बग्ने क्रममा जेटबोट दुर्घटनामा परेको बताइएको छ।
जेटबोटमा १६ जना सवार रहेको जानकारी प्राप्त भएको छ। तर, १२ जनाले मात्रै टिकट काटेको खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनामा एक जना घाइते भएका छन्। उनको चतरा अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना सकुशल घर फर्किएका छन्।
घटनापछि जेटबोट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको पहिचान खुलाउने तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































