काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनःस्थापना र जीविकोपार्जनमा सहयोग गर्न नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच सहकार्य भएको छ।
सम्झौताअनुसार बेपत्ता भएका परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ उपलब्ध गराइनेछ।
यस्तै, २ हजार घरधुरीलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले नगद सहायता दिइनेछ।
रेडक्रसले १ हजार परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता, २ हजार घरधुरीलाई घरभाडा सहयोग र ६०० घरधुरीलाई अस्थायी आवासको व्यवस्था गर्ने जनाएको छ।
त्यसैगरी, खानेपानी पाइपलाइन मर्मत, स्वास्थ्य सेवा, विद्यालय पुनःस्थापना तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमसमेत सञ्चालन गरिनेछ।






























