Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको बिदाइ, साह सोमबार हाजिर हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको आज बिदाइ गरिएको छ। राष्ट्रिय सूचना आयोगमा सरुवा भएका सुवेदीलाई नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाललगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा नगर प्रमुख कार्कीले सुवेदी लगनशील, अनुभवी तथा विभिन्न विषयमा राम्रो ज्ञान भएका प्रशासक रहेको बताए। नगरपालिकामा कार्यरत रहँदा सुवेदीले आफ्नो जिम्मेवारीलाई इमानदारी र लगनशीलताका साथ निर्वाह गरेको भन्दै कार्कीले उनको आगामी कार्यकाल सफल र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरे।

‘उहाँ लगनशील, अनुभवी हुनुहुन्छ र विभिन्न विषयमा राम्रो ज्ञान राख्नुहुन्छ। उहाँसँग काम गर्ने क्रममा धेरै विषयमा सहकार्य गर्ने अवसर मिल्यो। आगामी दिनहरू अझ राम्रो रहून् भन्ने शुभकामना व्यक्त गर्दछु,’ नगर प्रमुख कार्कीले भने।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ असोज ५ गते नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका १९ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सुवेदी राष्ट्रिय सूचना आयोगमा सरुवा भएका हुन्।

सुवेदीको स्थानमा धनुषाको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धवण कुमार साहलाई कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। साह आगामी सोमबार नगरपालिकामा हाजिर हुने भएका छन्।

बिदाइ कार्यक्रममा उपप्रमुख शान्ता थापा, वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाललगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले पनि सुवेदीको आगामी जिम्मेवारी सफल रहोस् भन्दै शुभकामना दिएका थिए।

सुवेदीको बिदाइसँगै सोमबार साहले हाजिर गरेपछि कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी परिवर्तन हुनेछ।


प्रतिकृया दिनुहोस्