Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वप्रकाश भन्छन्  : विशेष महाधिवेशनको माग बाध्यकारी छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २३ गते


Advertisement

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन्।

आगामी मंसिर, पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषय प्रधान नभए पनि महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशन अहिलेको मूल प्रश्न भएको उनको भनाइ छ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् धारणा व्यक्त गर्दै महामन्त्री शर्माले लेखेका छन्, ‘नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन। तर‘विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७ ९२० को स्पस्ट निर्देशन छ। यो बाध्यात्मक छ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो,’ उनले लेखेका छन्, ‘विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्दछ। यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ।’

कांग्रेस केन्द्रीय समितिमा चलिरहेको छलफल पार्टी र रास्ट्रिय जीवनका लागि महत्वपूर्ण रहेको भन्दै उनले जारी केन्द्रीय कार्यसमिति बैठकले केही दिनभित्रै एकता र परिपक्वताका साथ निर्णय गर्नु पर्ने बताएका छन्।

‘कांग्रेसले कांग्रेसको जीवनका लागि गर्नुपर्ने काम भन्दा ठूलो देशका लागि कांग्रेसले गर्नुपर्ने थुप्रै काम छन्। हामीले त्यसप्रति झनै गम्भीर हुनुछ। आन्तरिक मूल प्रश्न भन्दा माथिको यो मूल प्रश्नमा हामी सबल र सफल हुनुछ,’ महामन्त्री शर्माले भनेका छन्।


प्रतिकृया दिनुहोस्