
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरीत सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आइतबार बसेको बैठकमा उनले संविधानभन्दा बाहिर गएर सरकार निर्माण भएकोले यसको परिणाम भविष्यमा थप व्यहोर्दै जानुपर्ने बताएका हुन्।
हाल राज्यशक्ति सम्पूर्ण रुपले समाप्त भएको उनको भनाइ छ। उनले नेपालमा भएको जेनजी आन्दोलनको बारेमा पनि आशंका व्यक्त गरे।
भारतीयहरूले केपी ओली सरकारलाई जवाफ दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो गतिविधि गरेको भन्ने गरेको उनको दाबी छ।
यस्तो छ गौतमको भनाइ
दुर्घटना भएको छ, राज्यशक्ति सम्पूर्ण रुपले समाप्त भएको अवस्था छ र संविधानभन्दा बाहिरबाट राज्यसत्ता निर्माण अवस्था सिर्जना भएको छ। यसको परिणाम भविष्यमा हामीले एक एक पछि व्यहोर्दै जानुपर्नेछ। पछि के हुन्छ, भन्न सकिन्न। अझ यो भन्दा पनि ठुलो हुन सक्छ। हिजो मात्रै महिले एउटा मोबाईलमा हेरे, भारतको एकजना व्यक्तिले यो सबै मोदीले गराएको भनेर भन्यो।
केपी ओलीलाई जवाफ दिनको निम्ति। यिनले चुच्चे नक्सा निकालेर, भारतको जमिन नेपालको भनेर के के गरेका थिए, मोदीले एकैपटक जवाफ दिए भनेर आएको छ। अब यहाँ यसमा जति प्रयोग हुने व्यक्तिहरु छन्, तिनीहरु नेपालप्रति थोरैमात्रै पनि सम्मान प्रकट गर्ने व्यक्तिहरु छैनन्। ऐतिहासिक धरोहरहरु एकपछि अर्को ध्वस्त गरेका छन्। यो सबैलाई हेर्दाखेरी हामीले जेनजी भनेका छौँ, जेनजीले संसारमा यस्तो कहीँ पनि गरेको छैन।
यो अराजकताभन्दा अर्को हुँदै होइन र कसै न कसैले यसलाई बदला लिनको निम्ति उठाएको छ, अगाडि बढाएको छ। यतिधेरै संरचना ध्वस्त भएको छ। ७४ जना केपी ओली सरकारका पालामा मारिए, तीनै जेनजी भन्नेहरू।














