Hamro Sanchar

लीलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २७ गते


Advertisement

विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ ।

उनीसहित ९ जनालाई काठमाडौं जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

मानव तस्करी तथा सरकारी कागज किर्ते प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

जापानमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा अधिकारीसँग थप ३ जना जापान पुगेपछि पूर्वमन्त्री विवादमा तानिएका थिए ।

अधिकारीले आफूलाई थाहा नै नदिई लैजाने मानिसहरुले थप ३ जनालाई जापान पुर्‍याएको दाबी गर्दै आएका छन् । आफूले नै भनेर जापान अध्यागमनले कार्यक्रममा सहभागी नभई नेपाल फर्काएको उनले बताउँदै आएका छन् ।

नेपाल फर्किएपछि पक्राउ परेका तीन जनाको बयानका आधारमा थप २ जना पक्राउ परेका छन् । सरकारी कागज किर्ते गरेको र मानव तस्करी गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नवीन राई हिरासतमा छन् ।

कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेकोमा उनीहरुलाई १४ गते जापानले डिपोर्ट गरेको थियो ।


प्रतिकृया दिनुहोस्