Hamro Sanchar

भुँइमा खसेको टिपेर खाने बालबालिकाको भविष्य प्रति चिन्तित छौं- मेयर कार्की

प्रदिप नेपाली प्रकाशित : २०८१ भदौ, २९ गते


Advertisement

काठमाडौं, भदौ २९- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बालबालिकाको हक, हित र अधिकारको निम्ति आफुहरु गम्भीर भएर लागेको बताएका छन् । नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाले ६०औं बाल दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मेयर कार्कीले यस्तो बताएका हुन् ।

महिला बालबालिका तथा समाजकल्याण शाखाले शनिबार नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत करिब २ सय विद्यार्थीको बीचमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्षहरुको सहभागितामा ‘बाल बहस’ कार्यक्रमको आयोजना गरेको थियो ।

उपस्थित विद्यार्थीहरुले बालअधिकार, नीतिगत प्रश्नहरु र बालबालिकाका क्षेत्रमा नगरपालिकाले हालसम्म गरेका कार्यहरु र भावी योजनाहरुको बारेमा प्रश्न गरेका थिए ।

विद्यार्थीहरुबाट उठेका प्रश्नको उत्तर दिँदै मेयर कार्कीले नगरपालिका सडक बालबालिकामुक्त, बालविवाह तथा बालश्रम अन्त्य, अनाथ तथा अपाङ्गता भएका बालबालिका संरक्षण र उपचार, यौनहिंसा तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार र संरक्षण, ओसारपसारमा परेका बालबालिकाको उद्धार र संरक्षण तथा कानुनी उपचार, वैकल्पिक सेवाको प्रवर्द्धन, नगरपालिकाभित्र संचालित बालगृहको अनुगमन गरी नियमन गर्दै आएको स्पष्ट पारे ।

शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाएको नगरपालिकाले समग्र बजेटको सबैभन्दा धेरै रकम शिक्षालाई छुट्याएको छ । जसअन्तर्गत सामुदायिक विद्यालयको भौतिक संरचना निर्माण, शैक्षिक सुधार, अध्ययनरत विद्यार्थीलक्षित खाजा कार्यक्रम, गरिब तथा जेहेन्दारलाई छात्रबृत्तिलगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ । यद्यपी अझैपनि हाम्रो समाजमा गरिबीरेखा मुनि रहेका तथा बिपन्न बालबालिका गुणस्तरीय शिक्षाबाट बन्चित हुनुका साथै सडकमा वा भुँइमा खसेको खाएर वा अरुले खाएको देखेर मुख मिठ्याएर बस्ने गरेकोमा आफुलाई दुख लाग्ने गरेको मेयर कार्कीले सुनाए । त्यस्ता बालबालिकाको भबिष्य प्रति आफुहरु धेरै चिन्तित रहेको उनको भनाइ छ । उनले कागेश्वरी मनोहरा नगरपालिकाभित्र रहेका त्यस्ता बालबालिकालाई आर्थिक अवस्थाका कारण शिक्षाबाट बन्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले त्यस्ता कोहि अभाब भएका बालबालिका देखे, भेटे वा सम्पर्कमा भए नगरपालिकाको सम्पर्कमा आउन ल्याइदिन उपस्थित विद्यार्थीहरुलाई अनुरोध गरे ।

मेयर कार्कीकाअनुसार नगरपालिकाले बाल विकास कक्षामा पढ्ने विद्यार्थिहरुका लागि रातो वंगला स्कुलको प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक समन्वयमा कक्षा कोठा व्यवस्थापन तथा शैक्षिक गुणस्तरअभिबृद्धि गरिएको, बाल विकास कक्षाका लागि नगरपालिकाको आन्तरिक श्रोतबाट थप बाल विकास सहजकर्ता र आयाको व्यवस्था गरिएको, विद्यालयमा यसै वर्षदेखि मनो परामर्शदाताको व्यवस्था प्रक्रिया अगाडि बढाएको, सबै विद्यालयहरुमा लैङ्गिक विभेद तथा लैङ्गिकतामा आधारित हिंसा न्यूनिकरणका कार्यक्रम सञ्‍चालन गरिएको, बालश्रम न्यूनिकरणकालागि महिला समूह समितिका पदाधिकारीहरुका लागि सचेतना भेला, टोल भेला तथा सचेतना कार्यक्रम, बालश्रम विरुद्ध सचेतनामूलक होडिङ वोर्ड तथा फ्लेक्स, बालश्रम विरुद्ध सचेतनामूलक माईकिङ तथा जिङ्गल प्रशारण, गलैचा उद्यमीहरुका लागि बालश्रमविरुद्ध सचेतना तथा प्रतिवद्धता, बाल संरक्षक शिक्षक, स्वास्थ्य संस्था प्रमूख तथा वडा बालअधिकार समितिलाई बालश्रम न्यूनिकरणका लागि सचेतना जस्ता कार्यहरु सम्पन्न गरिएको छ ।

यस्तै निकट भबिष्यमै नगरलाई बालश्रम मुक्त धोषणा प्रक्रिया अघि बढाउने, समाजसेवी तथा बालमनोविज्ञ सुचिकृत गर्ने, बालमैत्री/अपाङ्गता मैत्री विद्यालय, बालमैत्री सेवा तथा बालमैत्री संरचना निर्माण गर्दै नगरलाई बालमैत्री घोषणा गर्ने, बाल संरक्षण प्रणाली सुदृढ गर्न तहगत संरचना निर्माण गर्ने, बालबालिका सम्पर्क केन्द्र स्थापना गर्ने, स्थानीय पाठ्यक्रम मार्फत संस्कार सहितको गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने, विद्यालय स्वास्थ्य कार्यक्रम अन्तरगत बालबालिकालाई सहज स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्य नागरिक निर्माण गर्ने योजना रहेको बताए ।

महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सबिना श्रेष्ठकाअनुसार १ लाख ३० हजार ४ सय ३३ जना जनसंख्या रहेको नगरपालिकामा ४१ हजार ६९ जना बालबालिका रहेका छन् । यीमध्ये १५ हजार २ सय १२ जनाले पूर्ण खोप प्राप्त गरेका छन् । ३८ हजार ६ सय २७ जना बालबालिका विद्यालयमा अध्ययनरत छन् भने लक्षित वर्गका २ हजार ८ सय ५ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । दिवा खाजाबाट ३ हजार ५ सय बालबालिका लाभान्वित भएका छन् । यसमध्ये २ सय ६८ बालबालिका रहेका छन् । भने अपांगता भएका बालबालिका ५५ जना रहेका छन् ।

कार्यक्रममा उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ४ का अध्यक्ष बिजय श्रेष्ठ घनले उठेका प्रश्नको उत्तर दिँदै बालबालिकाका हकहित र अधिकारका निम्ति आफुहरु लागि पर्ने बताए ।

यस्तै कार्यक्रमलाई आमन्त्रित अतिथि ‘स्थर बेन्जामिन स्मृति’ संस्थाका कार्यकारी निर्देशक आत्मराम थापाले सहजीकरण गरेका थिए ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ शुक्रबार देशभर राष्ट्रिय बाल दिवस मनाइएको छ ।

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन बाल मन्दिर स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।


प्रतिकृया दिनुहोस्