काठमाडौं, बैशाख २१- काठमाडौंको कागेश्वरी मनोहरामा निर्माण गर्न लागिएको अन्तराष्ट्रिय रग्बीको स्टेडियमको डिपिआर तयार पारिएको छ ।
नगरपालिकाको वडा नम्बर ७ स्थित सोमतिर्थमा रग्बीको अन्तराष्ट्रिय स्टेडियम निर्माण हुने तयारीमा छ । स्टेडियमको १ अर्ब ३३ करोड लागत बराबरको डीपीआर तयार भएको हो ।
नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बुधबार एक कार्यक्रमकाबीच उक्त सोमतिर्थ मैदानमा प्रस्तावित अन्तराष्ट्रिय रग्बी कम फुटबल स्टेडियमको एनिमेटेड डिपिआर भिजुअल डिस्प्लेको उद्घाटन गरेका छन् । भिजुअलको उद्घाटन गर्दै मेयर कार्कीले नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानअनुरुप रग्वी खेल मैदान निर्माण हुन लागेको बताए । नगरपालिकालाई खेलकुद नगरीका रुपमा विकास गर्ने योजना रहेको बताउदै उनले उक्त कार्यमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महत्वपूर्ण साथ् र सहयोग रहेको बताए ।
मेयर कार्कीले खेलकुद विभिन्न देशका जनताको सम्बन्ध, युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए । ‘खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको छ । यो हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा, विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेलेको हुन्छ ।’ उनले भने ।
स्टेडियमको आगामी आर्थिक बर्षबाटै यसको निर्माण कार्य सुरु हुने र बहुबर्षिय योजनामा लगेर ४ देखि ५ बर्षभित्र निर्माण सम्पन्न हुने मेयर कार्कीले जानकारी दिए ।
यस्तै रग्बीको अन्तराष्ट्रिय स्टेडियम कस्तो बनाउने भन्ने डिपीआर तयार भएको र आगामी आर्थिक बर्षबाट निर्माण सुरु हुने रग्बी संघका महासचिव गोबिन्द घिमिरेले हाम्रोसंचारलाई जानकारी दिए । उनकाअनुसार बजेटको अवस्था हेरेर पहिलो चरणमा ग्राउण्ड निर्माण र दोश्रो चरणमा बाहिरको संरचना निर्माण, तारजाली लगायतका काम सम्पन्न हुनेछ ।
राष्ट्रिय खेलकुद परिषदले निर्माण गर्ने भएपनि उक्त स्टेडियम छिटोभन्दा छिटो सम्पन्न गर्न राज्य नै लाग्नुपर्ने उनको भनाई छ ।
नगरपालिकाले रग्बीका लागि सोमतीर्थमा १०८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराएको छ ।
नगरपालिकाले खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रुप दिनका लागि विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विविध गतिविधि आपसी सहयोगमा गर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा यसअघि नै राष्ट्रिय खेलकुद परिषदसँग द्विपक्षीय सम्झौता गरेको छ ।
नगरपालिकाले रग्बीका साथै भलिबललाई वडा ६ स्थित तिवारी टोलमा ६३ रोपनी ८ आना जग्गा र बक्सिङका लागि वडा ६ कै अधिकारी टोलमा ८६ रोपनी ५ आना १ दाम जग्गा राष्ट्रिय खेलकुद परिषदलाई उपलब्ध गराउने सहमती गरेको छ । यस्तै आइस हक्की र अन्य खेलको लागि वडा नम्बर १ र ४ मा जग्गा उपलब्ध गराउने भएको छ ।
के हो रग्बी ?
नेपाल रग्बी संघले गत बर्ष विश्व रग्बीको पूर्ण सदस्यता पायो । पछिल्लो एक दशकमा नेपालमा रग्बीको गतिविधिलाई आधार मानेर विश्व रग्बीले नेपाललाई यो मान्यता दिएको हो ।
नेपाली खेलकुदमा रग्बीले पाएको यो मान्यता आफैमा ठूलो उपलब्धी हो । यससँगै नेपाली खेल क्षेत्रमा भ्रूण अवस्थामा रहेको रग्बी अब भने विकास हुने अपेक्षा गरिएको छ ।
लण्डनमा सन् १८२३ ताका सुरु भएको मानिन्छ रग्बी खेल । तर नेपालमा भने २०४८ सालदेखि औपचारिक रुपमा रग्बी खेल्न थालिएको इतिहास छ । २०५२ सालमा रग्बी संघ गठन भयो । विश्वमा शताब्दी पुरानो इतिहास बोके पनि ६० को दशकसम्म नेपालमा रग्बीको गतिविधि शुन्य जस्तै रह्यो ।
२०६८ सालमा टंकलाल घिसिङको अध्यक्षता रग्बी संघको पुनर्गठन भएपछि मात्र यसले गति लिन थालेको हो । पछिल्लो ११ वर्षमा नेपाल रग्बी संघले धेरै सक्रियाता देखाएको छ । यसैको आधारमा रग्बीको अन्तर्राष्ट्रिय संगठन विश्व रग्बीले नेपाललाई आफ्नो पूर्ण सदस्यको मान्यता दिएको हो । नेपालमा रग्बीको गतिविधि र विकासका लागि यो मान्यतालाई महत्वका साथ हेरिएको छ ।