काठमाडौं, भदौ २२- नेकपा एकीकृत समाजवादीनिकट ‘समाजवादी प्रेस संगठन नेपाल’ले मिडिया काउन्सिल विधेयकको बिरोध गरेको छ । संगठनका अध्यक्ष शम्भु श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै हाल प्रतिनिधिसभामा पेस गरिएको विधेयकको बिरोध गरेका हुन् ।
विधेयकले नेपाललाई विश्वमै स्वतन्त्र प्रेस विरोधी देशका रूपमा चिनिनुका साथै काउन्सिल गठन विधिलाई हेर्दा सरकार थप निरंकुश हुन खोजेको देखिएको संगठनले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी मान्यता विपरीत ल्याउन खोजिएको यो विधेयकले नेपाल विश्वमै स्वतन्त्र प्रेस विरोधी देशका रूपमा चिनिनुका साथै काउन्सिल गठन विधिलाई हेर्दा सरकार थप निरंकुश हुन खोजेको प्रस्टै छ ।’
नेपाली सञ्चारमाध्यम र सांसदहरूका सुझावहरू समेतलाई बेवास्ता गर्दै हतार हतार सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक पास गर्न दबाब बढाउनु स्वतन्त्र प्रेसको घाँटी निमोठ्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।