
काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले तीनकुने घटनामा आगजनी भएको घरभित्र पसेर दुई पटकसम्म खोजी गर्दा पनि पत्रकार सुरेश रजकलाई नभेटेको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै सशस्त्र महानिरीक्षक अर्यालले कोही नभेटेपछि टोली फर्किएको बताए । १५ चैतमा राजावादी प्रदर्शनको क्रममा तीनकुनेस्थित एक घरमा प्रदर्शनकारीले आगो लगाउँदा त्यसभित्र जलेर एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको ज्यान गएको थियो ।
‘प्रदर्शनकारीले आगजनी गरेको घरभित्र पत्रकार रहेको सुनेपछि ३ बजेर ४७ मिनेटमा मैले डीएसपीको नेतृत्वको टोली पठाएँ । तीन तलासम्म सर्च गरियो । चौथो तलामा ताला लगाइएको थियो । कोही नभेटेपछि हाम्रो टोली फर्कियो,’ उनले भने, ‘तल आएपछि माथि मान्छे छ भनेपछि हाम्रो टोली फेरि माथि हेर्न गयो । तर, कोही भेटेन । हाम्रो टोली फर्किंदा पनि निस्सासिएको अवस्था थियो ।’
उनले त्रिशूली र नारायणी नदीमा डुबेर मृत्यु भइसकेकाहरूको शव निकाल्न त सुरक्षाफौजले ज्यान माया मार्ने गरेको भन्दै जीवितै मान्छे छ भन्ने थाहा पाएपछि उद्धार गर्न नजाने प्रश्न नै नआउने जिकिर गरे ।
‘त्रिशुलीमा होस् वा नारायणीमा होस् शवको उद्दार गर्न सुरक्षाफौजले ज्यान माया मारेको छ भने जीवित मान्छेलाई उद्धार गर्न नजाने कुरा नै थिएन,’ सशस्त्र महानिरीक्षक अर्यालले भने, हामीले पटकपटक माथि गएर हेर्दा पनि फेला पार्न सकेनौं ।