काठमाडौं । गोरखा दरबारबाट पठाइएको फूलपाती वसन्तपुरस्थित दशैँघरमा बाजागाजासहित भित्र्याइएको छ ।
गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
यस्तै सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ। समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
उक्त समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो। समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८१’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व सहभागी थिए।
फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ। गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्यासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ।
बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ। सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो ।