Skip

Hamro Sanchar

डेंगु नियन्त्रण गर्न कागेश्वरी मनोहरा ६ को ‘खोज र नष्ट गर’ अभियान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १२ गते


काठमाडौं, भदै १२- डेंगु संक्रमणको जोखिम बढेपछि कागेश्वरी मनोहरा नगरपालिकाले डेंगु रोकथामका लागि अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत नगरपालिकाको वडा नम्बर ६ को कार्यालय र मुलपानी नगर अस्पतालको आयोजनामा ‘खोज र नष्ट गर’अभियान सुरु भएको छ ।

बुधबारदेखि सुरु भएको डेंगु रोकथाम तथा नियन्त्रण अभियान तीन चरणमा वडाभित्र सम्पन्न हुनेछ । बुधबार बिहान ७ बजे वडा कार्यालयबाट सुरु हुँदै बाबाचोक, मिलनचोक, वरपिपल तिवारी टोल, नर्लिङ क्रिकेट ग्राउण्ड हुँदै वडा कार्यालयमा समापन भएको छ । कार्यक्रममा महिला स्वयंसेविका, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

आजबाट सुरु भएको अभियान भदौ १९ गते वडाको चखण्डोल युवा क्लबबाट ग्रिनहिल सिटी टोल, रामजानकी टोल, रमाइलो समाज हुँदै चखण्डोल युवा क्लबमा समापन हुनेछ भने भदौ २३ मा मुलपानी चौरबाट ढुङ्गेल गाउँ, मिलनचोक सिर्जना टोल हुँदै शिक्षालय स्कुलमा समापन हुने बताइएको छ ।

नेपालका विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि नगरपालिकाले यो अभियान सुरु गरेको र त्यसैअनुरुप आफुहरुले वडाभित्र यस्तो अभियान संचालन गरेको वडाअध्यक्ष प्रकाश फुयालले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले डेंगुका बारेमा सन्देशमूलक सूचना सामग्रीसहित प्ले कार्ड बोकेर स्थानीयहरुलाई सचेतनाका सामग्री वितरण गरेका थिए ।

‘डेंगु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय: दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक लगाउन समेत भनेका छौं,’ अध्यक्ष फुयालले भने ।

कागेश्वरी मनोहरा नगरपालिकाभित्र हालसम्म ४ जनामा डेंगुका बिरामी भेटिएका छन् ।

डेंगु कसरी सर्छ ?
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ । डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन ।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

डेंगु सार्ने एडिस जातको लामखुट्टे कहाँ पाइन्छ ?
यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ । यसले स–साना पानी जमेका स्थानमा फूल पार्छ । विशेषतः टिनका डब्बा, थोत्रा टायर, खाली ड्रम, फूलदानी, गमला, पानीको ट्यांङ्की, दहीका बट्टा आदि जस्ता वर्षात्को पानी जम्ने भाडाकुँडाहरुमा यसले फूल पार्छ । सहरी क्षत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने हुँदा पनि यो लामखुट्टे सहरी क्षेत्रमा बढी पाइन्छ । एडिस कालो रङमा सेता थोप्ला रहेको तथा टाटे–पाटे हुन्छ । यसले खासगरी दिउँसो टोक्ने गर्छ । धेरै दिनसम्म स्थिर रहेको सफा पानीमा फूल पार्छ ।

डेंगुका लक्षण केके हुन्छन् ?
– उच्च ज्वरो
– कडा खालको टाउको दुखाइ हुने
– आँखाको गेडी पछाडि दुख्ने
– मांसपेसीको दुखाइ
– वाकवाक लाग्ने र वान्ता हुने
– शरीरमा राता खालका बिमिरा देखिने
– कडा खालको डेंगुमा विभिन्न जटिलताका लक्षण देखिन्छन् र उपचार नभएमा बेहोस भई मृत्यु समेत हुन सक्छ ।

धेरै संक्रमित व्यक्तिहरुमा लक्षणहरु नदेखिई रोग आफैं निको भएर जान्छ तथा अन्य केहीलाई सामान्य रुघा लागेको जस्तो ज्वरोका लक्षणहरु मात्र देखिन्छन् । सामान्यतया लामखुट्टेले टोकेको ३ देखि १४ दिनभित्र रोगका लक्षणहरु देखा पर्छन् ।

डेंगुको व्यवस्थापन कसरी गरिन्छ ?
– डेंगु विशेषको कुनै पनि खास औषधि छैन, तर चाँडो पत्ता लगाउने र उपयुक्त व्यवस्थापनको भएमा मृत्युदरमा न्यून हुन्छ ।

– डेंगु ज्वरो धरैजसो आफैं निको हुन्छ । स्वास्थ्य संस्थाहरुमा लक्षणका आधारमा उपचार गरिन्छ । यस्तोमा ज्वरो र दुखाइ कम गर्ने सिटामोल प्रयोग गनुपर्र्छ तर एस्पिरिन, बु्रफेनका जस्ता औषधिहरुको प्रयोग गर्नु हुँदैन । प्रशस्त झोल खाद्य पदार्थ खाने र आराम गर्नाले सन्चो हुन सजिलो हुन्छ । तर रोगको जटिलता बढेमा अस्पतालमा भर्ना भई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु पर्छ ।

– कडा डेंगुको सावधानीका उपचारका र उपयुक्त व्यवस्थापन आवश्यक हुन्छ । समयमै उपचार हुनसके रोग निको हुन सक्छ र मृत्यूदर १ प्रतिशतभन्दा कम हुन्छ ।

डेंगुको रोकथामका उपाय केके छन् ?
– डेंगु विरुद्घको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो ।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्ने
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्नेे
– डेंगुका बारेमा जनचेतना अभिवृद्घि गरी सक्रिय जनसहभागिता र संलग्नतामा लामखुट्टेको बासस्थान र ब्रिडिंग स्थान नष्ट गर्ने र दिगो नियन्त्रणका उपायहरु अवलम्बन गर्र्ने
– लामखुट्टेको टोकाइबाट बच्ने
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने
– झुलको प्रयोग गर्ने
– झ्याल–ढोका जस्ता प्रवेशद्वारमा लामखुट्टे भगाउने उपकरणहरु राख्ने
– शरीरका अंग ढाक्ने खुकुला कपडा लगाउने
– शरीरमा लामखुट्टे भगाउने मल्हमहरुको प्रयोग गर्ने
– डेंगु प्रभावित क्षेत्रमा भ्रमण गर्दा लामखुट्टेको टोकाइबाट बच्न विषेश ध्यान दिनु पर्छ ।
– स्कुल, अस्पताल र कार्यक्षेत्र जस्ता मानिस र लामखुट्टेको बढी सम्पर्क हुने स्थानहरुमा नियन्त्रणका उपायहरु प्राथमिकता दिने ।


प्रतिकृया दिनुहोस्