काठमाडौं, जेठ १७- नेपाली कांग्रेससहितका विपक्षी दलहरू मधेस प्रदेशबाट नयाँ समीकरणको कसरतमा जुटेका छन् । सहकारी ठगीमा छानबिन गर्न मंगलबारको प्रतिनिधिसभा बैठकले संसदीय समिति गठन गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षी दलहरूसँगको संवाद अघि बढाएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का शीर्ष नेताबीच छलफल भएको छ । नेकपा एकीकृत सत्तारुढ दल हो । देउवानिवासमा भएको छलफलमा जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारलाई निरन्तरता दिन नेताहरूबीच समझदारी बनेको स्रोतको दाबी छ ।
यादव नेतृत्व जसपाबाट अशोक राईसहितका नेताहरू अलग भएसँगै मधेस प्रदेश सरकारबाट माओवादी केन्द्र र एमाले अलग भएका छन् । माओवादी र एमाले सरकारबाट अलग भएसँगै जसपा नेता सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । चार दलका शीर्ष नेता सहभागी बैठकमा मधेस प्रदेशको वर्तमान सरकारलाई निरन्तरता दिने समझदारी भएको सहभागी एक नेताको दाबी छ ।
मधेसमा २३ सांसदसहित एमाले पहिलो दल छ भने कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादीका ८ र नेकपा एसका ७ सांसद छन् । १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ ।
मधेस प्रदेशसँगै बैठकमा गण्डकी र सुदूरपश्चिम सरकारका विषयमा पनि नेताहरूबीच छलफल भएको छ । नेकपा एसको नेतृत्वमा गठन भएको सुदूरपश्चिम सरकारको आयु अनिश्चित जस्तै छ । सत्ता गठबन्धनमै रहे पनि एमालेले नेकपा एसलाई साथै लिएर अघि बढ्न नचाहेको निकट स्रोतको दाबी छ । संघीय सरकारबाट नेकपा एसलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालमाथि एमालेबाट दबाब पर्दै आएको निकटहरूको दाबी छ ।